रोल्पा । रोल्पामा पहिरोले घर पुरीदा २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले ६ घर तथा गोठ पुरिएका हुन् ।
यस्तै घटनामा परी २ जना घाइते भएका छन् । बुधबार राति करिब पौने ९ बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।
हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभयो । स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
घटनाको खबर राति साढे ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट डिएसपी बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतमा खटिएको छ ।
यस्तै रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुग्नुभएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ । घटनास्थलमा फोन सम्पर्क हुन नसकेको कारण र थप विवरण आउन बाँकी छ ।






















