दाङ, १७ बैशाख । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीले बुधबार अक्षय तृतीयाको अवसरमा सातु तथा सर्वत वितरण गरेको छ । उपशाखाले बिजौरी बजारमा सातु तथा सर्वत वितरण कार्यक्रम गरेको हो ।
उपशाखा सभापति बालकृष्ण रेग्मी ‘शम्भु’ को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा वडाअध्यक्ष योगीले गर्मीबाट शरीरलाई बचाउन सातु र सर्वतले महत्वपूर्ण काम गर्ने बताउनुभयो । उहाँले कुनै पनि पर्व धार्मिक महत्वसंगै विज्ञान संग पनि जोडिएको बताउनुभयो ।
कार्यक्रममा रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तुलसी पुनमगर, बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुकेश वली, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सहकोषाध्यक्ष बिदुरराज गौतम लगायतले सातु र सर्वतले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने भएकाले यसको विषेश महत्व रहेको बताउनुभयो ।















