दाङ । तुलसीपुर बजार क्षेत्रको सडक अनुशासन कायम राख्न तथा अव्यवस्थित पार्किङ र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी र नगर प्रहरीलाई ह्विल लक र ट्राफिक कोण वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले बिहिबार ट्राफिक प्रहरी र नगर प्रहरीलाई ह्विल लक र ट्राफिक कोण वितरण गरेको हो ।
बजार अनुगमन उपसमितिका संयोजक तुलाराम नेपालीको अध्यक्षतामा प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र शिवाकोटीले ट्राफिक प्रहरीलाई ६ थान ह्विल लक र ६ थान ट्राफिक कोण वितरण गर्नुभएको हो । यस्तै नगर प्रहरीलाई पनि ६ थान ह्विल लक र ६ थान ट्राफिक कोण वितरण गरिएको छ ।
बजारका मुख्य चोक, व्यापारिक मार्ग तथा साँघुरा सडकहरूमा हुने सवारी जाम र जथाभावी पार्किङको समस्या हल गर्न यी सामग्री हस्तान्तरण गरिएको हो । बजारलाई थप सुरक्षित, सुन्दर र व्यवस्थित बनाउन ह्विल लक र ट्राफिक कोण वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत शिवाकोटीले बताउनुभयो ।
तोकिएको स्थानभन्दा बाहिर वा निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरूलाई ह्विल लक गरी नियन्त्रणमा लिने र ट्राफिक कोणको प्रयोग गरी अस्थायी लेन, एकतफी मार्ग र डाइभर्सन व्यवस्थापन गर्न यि सामाग्री वितरण गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।
तुलसीपुर बजारमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ह्विल लक र कोणको प्रयोगले सडकमा अनुशासन कायम गराउन र जथाभावी पार्किङ रोक्न ठूलो सहयोग पुग्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।
तुलसीपुरको ‘ग’ लाइनमा अत्याधिक भिडभाड बढ्दै गएको अवस्थामा पछिल्लो समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म ठुला सवारीसाधन पार्किङमा निषेध गरिएको छ । दुई पांग्रे सवारी साधनलाई निश्चित स्थानमा पर्किङका लागि निर्धारण गरिएको छ । नियम अनुसार पार्किङ नभए कार्बाही गर्न गरिने उपमहानगरपालिकाले जनाएको छ ।






















