२०८३ भाद्र २७ गते शनिवार

फोहोर उठाउनेबारे नगर प्रवक्ताले सामाजिक संजालमै गुनासो पोखेपछि…..


दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ शिवालय रोड क्षेत्रमा करिब एक महिनादेखि नियमित रूपमा फोहोर नउठेको भन्दै स्थानीयले गुनासो गरे ।

स्थानीय बादलपारी डाँगीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त क्षेत्रमा लामो समयदेखि नगरपालिकाको फोहोर उठाउने गाडी नआएको गुनासो गर्नुभएको थियो ।

नागरिकको गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव ओलीले बुधबार मात्रै सामाजिक सञ्जालमै पालिकाको सम्बन्धित शाखाले जिम्मेवारी लिनुपर्ने आक्रोश व्यक्त गर्नुभयो ।

‘पालिकाको सम्बन्धित शाखाले जिम्मेवारी लिनुपर्छ । के कति कारणले फोहोर उठ्न नसकेको हो ? यथासिघ्र जानकारी गराउनुहोला ।’ फेसबुकमा प्रवक्ता वलीले लेख्नुभयो ।

नगरका प्रवक्ताले सामाजिक संजालमै गुनासो पोखेपछि समन्वयको अभाव भएको प्रष्ट भएको छ । फोहोर उठाउने सम्बन्धमा प्रवक्ताको सामाजिक संजालमा आउनुमा जनप्रतिनिधि र कर्मचारीबिच तालमेल छैन् वा समन्वयको अभाव हो भन्ने प्रश्न उब्जिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा सरसफाइ शाखाले भने सामाजिक सञ्जालमै प्रश्न उठेपछि गाडी बिग्रिएका कारण उक्त क्षेत्रमा नियमित सेवा दिन नसकिएको जनाएको छ ।

वडा नम्बर १८ जाने फोहोर उठाउने गाडी करिब एक महिना अघिदेखि बिग्रिएको फोहोर व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख रेवा रावतले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो । गाडी बिग्रिएपछि उक्त रुटमा नियमित रूपमा फोहोर उठाउन नसकिएको उहाँले बताउनुभयो ।

तर फोहोर व्यवस्थापनमा खटिने कर्मचारी महेश चौधरीले भने करिब दुई हप्ताअघि उक्त रुटमा गाडी गएको जानकारी गराएको शाखा प्रमुख रावतले बताउनुभयो । बिग्रिएको गाडी मर्मतका लागि प्रक्रिया पूरा गर्नुपर्ने र सम्बन्धित शीर्षकमा बजेट इन्ट्री नभएका कारण मर्मतको काम अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो । प्राविधिक समस्याका कारण पनि फोहोर व्यवस्थापनमा समस्या भइरहेको उहाँको भनाइ छ ।

हाल उपमहानगरपालिकासँग फोहोर व्यवस्थापनका लागि चारवटा ट्याक्टरसहित सातवटा सवारीसाधन रहे पनि तीमध्ये एउटा गाडी बिग्रिएको अवस्थामा छ । फोहोर व्यवस्थापनको दायरा बढ्दै गएको र उपलब्ध सवारीसाधन पुराना मोडलका भएकाले सबै क्षेत्रमा नियमित सेवा पुर्‍याउन चुनौती भइरहेको शाखा प्रमुख रावतले बताउनुभयो ।

उहाँका अनुसार बसपार्क र आलुमण्डी क्षेत्रजस्ता दैनिक फोहोर बढी उत्पादन हुने स्थानमा दैनिक गाडी पठाउने गरिएको छ भने अन्य रुटमा कम्तीमा हप्तामा एकपटक फोहोर उठाउने व्यवस्था गरिएको छ ।

वडा नम्बर १८ मा लामो समयदेखि फोहोर नउठेको गुनासो आएपछि बिहिबार बिहानै फोहोर उठाउने गाडी पठाइएको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । नागरिकबाट फोहोर व्यवस्थापनसम्बन्धी गुनासो धेरै आउने गरेको स्वीकार गर्दै शाखा प्रमुख रावतले गुनासोलाई सकेसम्म छिटो सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस