१० वर्ष डिजेल र पेट्रोल गाडी र पछिल्लो एक वर्ष ईभी चलाउँदाको अनुभव
आज सडकमा विद्युतीय सवारीसाधन (ईभी) को संख्या तीव्र रूपमा बढिरहेको छ। वातावरणमैत्री, आरामदायी, कम आवाज र तत्काल गति लिन सक्ने क्षमताका कारण ईभीप्रति आकर्षण बढ्नु स्वाभाविक पनि हो। तर, ईभीको प्रयोग बढेसँगै सवारी दुर्घटना, आगलागी तथा सडक सुरक्षासँग जोडिएका विभिन्न प्रश्नहरू पनि उठिरहेका छन्।
मैले विगत १० वर्ष डिजेल र पेट्रोल गाडी चलाएको छु भने पछिल्लो एक वर्षदेखि ईभी कार चलाइरहेको छु। यी दुई प्रकारका गाडी चलाउँदाको आफ्नै अनुभवका आधारमा हेर्दा, ईभी र परम्परागत इन्धनबाट चल्ने गाडीबीच चालकले महसुस गर्ने सवारी अनुभवमा केही महत्वपूर्ण फरक देखिन्छन्। यही अनुभवका आधारमा सडक सुरक्षा र ईभी प्रयोगका विषयमा केही व्यक्तिगत विचार राख्न चाहन्छु।
मेरो विचारमा ईभी गाडीमा दुर्घटनाको जोखिम बढ्न सक्ने एउटा कारण यसको अत्यधिक सहजता र तत्काल गति लिन सक्ने क्षमता पनि हुन सक्छ। डिजेल र पेट्रोल गाडी चलाउँदा इन्जिनको कम्पन, आवाज र गियर परिवर्तन आदिबाट चालकले गाडीको अवस्था र गति केही हदसम्म सहजै अनुमान गर्न सक्छ। आवश्यक पर्दा गियरमार्फत पनि गाडीको गति नियन्त्रण गर्न सकिन्छ। तर ईभीमा अनुभव केही फरक हुन्छ। गाडी अत्यन्तै शान्त र सहज हुने भएकाले कहिलेकाहीँ गति बढेको चालकलाई महसुस नै नहुन सक्छ। एक्सिलेटर थिच्नेबित्तिकै तत्काल शक्ति उपलब्ध हुने भएकाले नयाँ ईभी चालकले गाडीको गति बढ्ने प्रतिक्रियालाई बुझ्न केही समय लिनुपर्ने हुन सक्छ।
यसका साथै, ईभीका विभिन्न ड्राइभिङ मोड, पुनःऊर्जा प्राप्त गर्ने ब्रेक प्रणाली तथा अन्य व्यवस्थाहरूको सही प्रयोगबारे चालकलाई पर्याप्त जानकारी नहुनु पनि एउटा चुनौती हुन सक्छ।
गाडी नयाँ हुँदैमा सडक अनुशासन नयाँ हुँदैन
ईभी आधुनिक प्रविधि हो। तर आधुनिक गाडी चलाउँदैमा सडक अनुशासन पनि आधुनिक हुन्छ भन्ने हुँदैन। हामीकहाँ अझै सडक अनुशासन र लेन अनुशासन मा सुधार गर्नुपर्ने आवश्यकता छ। गति सीमाको पालना गर्ने, सुरक्षित दूरी कायम गर्ने, सही समयमा मोड्ने सङ्केत दिने, जथाभावी उछिन्ने काम नगर्ने तथा ट्राफिक नियमको पालना गर्ने बानी सबै प्रकारका सवारीसाधनका चालकका लागि अत्यन्त आवश्यक विषय हुन्।ईभी होस् वा डिजेलरपेट्रोल गाडी-सडकमा चालकको व्यवहारले नै सुरक्षामा ठूलो भूमिका खेल्छ।
ईभी किन्दा के कुरामा ध्यान दिने ?
ईभी खरिद गर्दा सस्तो मूल्य वा आकर्षक सुविधा मात्र हेर्नु हुँदैन भन्ने मेरो व्यक्तिगत सुझाव छ। सम्भव भएसम्म अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा राम्रो परीक्षण नतिजा भएको, पर्याप्त सुरक्षा सुविधा भएको तथा बिक्रीपछिको सेवा र प्राविधिक सहयोग राम्रो दिने कम्पनीको गाडी रोज्नु उपयुक्त हुन्छ। गाडी खरिद गर्दा ब्याट्री, ब्रेक प्रणाली, सुरक्षा सुविधा, गाडी सञ्चालनका विभिन्न मोड, चार्ज गर्ने प्रणाली तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रियालगायतका विषयमा पनि पर्याप्त जानकारी लिन आवश्यक छ।
कम्पनी र डिलरको पनि जिम्मेवारी
ईभी बिक्री गर्ने कम्पनी तथा डिलरहरूलाई पनि मेरो एउटा अनुरोध छ-गाडी बेच्नु मात्र पर्याप्त हुँदैन। ग्राहकलाई गाडी हस्तान्तरण गर्दा उचित सवारी प्रशिक्षण, विभिन्न सञ्चालन मोडको प्रयोग, पुनःऊर्जा प्राप्त गर्ने ब्रेक प्रणाली, सुरक्षा सुविधा र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रियाजस्ता आधारभूत विषयमा पर्याप्त जानकारी दिन आवश्यक छ। विशेषगरी पहिलोपटक ईभी चलाउने चालकलाई गाडीको गति बढ्ने तरिका, ब्रेकको प्रतिक्रिया र विभिन्न सञ्चालन मोडका विषयमा व्यावहारिक जानकारी दिइयो भने त्यसले सुरक्षित सवारी सञ्चालनमा सहयोग पुर्याउन सक्छ।
ईभीको भविष्य राम्रो छ, तर सुरक्षा सबैको जिम्मेवारी हो
ईभीको प्रयोग बढ्नु आफैँमा एउटा महत्वपूर्ण परिवर्तन हो। प्रविधि परिवर्तन हुँदै जाँदा त्यसअनुसार हाम्रो सवारी संस्कृति र सडक अनुशासन पनि सुधारिन आवश्यक छ। सुरक्षित ईभी वातावरण निर्माण गर्ने जिम्मेवारी चालकको मात्र होइन। चालक, गाडी निर्माता कम्पनी, डिलर, सेवा प्रदायक, ट्राफिक प्रहरी तथा सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी हो।
ईभीलाई दोष दिएर मात्र सवारी दुर्घटनाको समाधान खोज्न सकिँदैन। त्यस्तै, नयाँ प्रविधि भएकै कारण त्यसका सम्भावित जोखिमबारे बेवास्ता गर्नु पनि उचित हुँदैन। आवश्यक कुरा हो-प्रविधिलाई बुझेर प्रयोग गर्नु, सडक अनुशासन पालना गर्नु र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नु।अन्त्यमा, मेरो व्यक्तिगत अनुभवले भन्छ-गाडी ईभी होस् वा डिजेल र पेट्रोल, सडकमा महत्वपूर्ण कुरा केवल गति होइन, त्यसलाई नियन्त्रण गर्ने चालकको क्षमता र अनुशासन हो।


























