दाङ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१९, चैनपुरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१९ चैनपुरका २३ वर्षीय सुरेन्द्रबहादुर घर्ती मगर र घोराही उपमहानगरपालिका–१८ मसिनामा बस्ने २४ वर्षीय अरुण घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरेन्द्रको घरमा खानतलासी गर्दा १२ वटा पुडिया फेला पारेको थियो । थप जाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ३७ ग्राम २३० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएकोे छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नगद ७९ हजार ५ सय रुपैयाँ, दुई थान एन्ड्रोइड मोबाइल र एउटा डिजिटल मेसिन तराजुसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रपक्ता केसीले जानकारी दिनुभयो ।


























