रुकुम पूर्व। रुकुम पूर्वको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित चौथो साहित्यिक महफिल–२०८३ को तयारी तीव्र पारिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा कार्तिक २८ गते सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदहको विन्ध्यवासिनी भगवती मन्दिर परिसरमा महफिल हुन लागेको हो।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न जिल्लाबाट साहित्यकार, गजलकार, कवि तथा कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा साहित्यिक सिर्जनासँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराका प्रस्तुतिलाई समेत विशेष स्थान दिइने आयोजकले जनाएको छ।
महफिलमा कैलालीका दीर्घराज प्रियसी, सुर्खेतका धिरेन अनुपम र अछामका कृष्ण विरहीले गजल प्रस्तुत गर्नेछन्। त्यस्तै कविता विधातर्फ रुकुम पश्चिमकी समष्टि बुढा मगर तथा रुकुम पूर्वका भुवनेश्वर उपाध्याय र मोहनबहादुर केसीको सहभागिता रहनेछ। स्थानीय कलाकार तिलक रोका लगायतका कलाकारले गीत, सङ्गीत, गायन तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वकी अध्यक्ष जमुना गौतम पुनले जिल्लाको साहित्यिक क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीय र राष्ट्रिय स्रष्टाबीच सिर्जनात्मक सम्बन्ध स्थापित गर्न महफिल आयोजना गरिएको बताउनुभयो।
उहाँले रुकुम पूर्वमा साहित्यिक सम्भावना र प्रतिभा प्रशस्त भए पनि उचित मञ्च तथा अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
“हामीले आफ्नै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न सकेनौँ भने हाम्रो मौलिक पहिचान कमजोर हुँदै जान्छ। त्यसैले स्थानीय प्रतिभालाई अगाडि ल्याउने, अग्रजको सम्मान गर्ने र नयाँ पुस्तालाई सिर्जनामा जोड्ने उद्देश्यले महफिललाई निरन्तरता दिएका हौँ,” उहाँले भन्नुभयो।
अध्यक्ष गौतम पुनका अनुसार कार्यक्रम सञ्चालनका क्रममा आर्थिक तथा व्यवस्थापकीय चुनौती रहे पनि परिषद्का पदाधिकारी, सल्लाहकार र साहित्यप्रेमीहरूको सहयोगले अभियान अघि बढिरहेको छ। उहाँले साहित्य र संस्कृतिको संरक्षण कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, नागरिक समाज र जिल्लावासी सबैको साझा दायित्व भएको बताउनुभयो।
महफिलले जिल्लाभित्र रहेका नवोदित स्रष्टाको पहिचान र प्रोत्साहनसँगै स्थानीय मौलिक कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै बाहिरी जिल्लाका स्थापित स्रष्टासँगको भेटघाट र सिर्जना आदानप्रदानले जिल्लाको साहित्यिक गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकको छ।
आयोजकले साहित्यकार, कलाकार, साहित्यप्रेमी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सम्पूर्ण जिल्लावासीलाई कार्यक्रममा सहभागी भई साहित्यिक अभियानलाई सफल बनाउन आग्रह गरेको छ।
कार्यक्रमको मिडिया पार्टनर रेडियो पूर्वी रुकुम रहेको छ।
‘भाषा, साहित्य, कला र संस्कृति ! जीवन र जगतको समृद्धि !!’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महफिलले रुकुम पूर्वलाई साहित्य र संस्कृतिको साझा थलोका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























