दाङ । दाङमा एक व्यक्तिमाथि पेट्रोल छर्केर आगो लगाई फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ मटेरियाका ३८ वर्षीय त्रिलोक सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
कार्कीलाई प्रहरीले लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आज शनिबार दिउँसो करिब साढे २ बजेतिर राजपुर गाउँपालिका–२ खाल गैरामा कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर सोही ठाउँका ४९ वर्षीय रुपलाल चौधरीको शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए ।

आगो लगाएर फरार भएका कार्कीलाई प्रहरीले खोजतलासका क्रममा लमहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले घाइते चौधरीको उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल पठाएको थियो ।
लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीलाई नियन्त्रणमा लिई घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























