सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले कपुरकोटमा शनिबार लागेको रून्टीलेखको मेलामा खुलेआम जुवातास खेलाइँदा पनि प्रहरीले नियन्त्रण गर्न नसकेको भन्दै प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न उठाउनुभएको छ ।
कपुरकोट गाउँपालिका वडा नं. १, २ र ५ को सिमानामा लाग्ने रून्टी मेला मौलिक सांस्कृतिक पहिचान, आपसी भेटघाट र प्राकृतिक सौन्दर्यसँग जोडिएको पर्व भए पनि यस वर्ष मेलामा जुवातास र मदिरा नियन्त्रणमा प्रहरी असफल देखिएको अध्यक्ष पुनले बताउनुभएको छ ।
मेलालाई सभ्य, शान्त र मर्यादित बनाउन तथा जुवातास र मदिरालाई पूर्ण रूपमा निषेध गर्न गाउँपालिकाले यसअघि नै प्रहरी चौकी कपुरकोटलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय लुहामलाई समेत आग्रह गरिएको उहाँको भनाइ छ ।
दुवै प्रहरी कार्यालयले जुवातास र मदिरा नियन्त्रणमा शून्य सहनशीलता अपनाउने र आवश्यक परे थप जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने त्यसको उल्टो देखिएको अध्यक्ष पुनले बताउनुभयो ।
मौलिक संस्कृति र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको रून्टि मेलालाई जुवातास र मदिराको अखडा बन्न नदिन स्थानीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
अध्यक्ष पुनका अनुसार मेला अनुगमनका क्रममा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिकै अगाडि मेलाको आसपास खुलेआम जुवातास खेलिरहेको देखिएको थियो । तर, मेलामा खटिएका ९/१० जना प्रहरीले समेत त्यसलाई नियन्त्रण गर्न नसकेको उहाँको आरोप छ ।
‘९/१० जना प्रहरी परिचालन हुँदा पनि खुलेआम जुवातास किन नियन्त्रण हुन सकेन ? जनप्रतिनिधिले रोक्न खोज्दा उल्टै आक्रमणको प्रयास किन गरियो ? जनप्रतिनिधिको निर्देशन प्रहरीले किन कार्यान्वयन गर्न सकेन ?’ अध्यक्ष पुनले प्रश्न गर्नुभएको छ ।
अध्यक्ष पुनले सामाजिक संजाल फेसबुकमार्फत प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै प्रहरी केन्द्र सरकारको मात्रै आदेश मान्ने निकाय हो कि स्थानीय सरकारको आग्रह र निर्देशनको पनि जिम्मेवारी लिन्छ भन्ने प्रश्नसमेत उठाउनुभएको छ ।
‘के प्रहरी केन्द्र सरकारको मात्रै आदेश मान्ने हो ?’ भन्दै उहाँले स्थानीय सरकारको आग्रह, समन्वय र निर्देशनलाई बेवास्ता गर्ने प्रवृत्तिले सार्वजनिक सुरक्षा र सुशासनमाथि नै प्रश्न खडा गरेको बताउनुभएको छ ।
अध्यक्ष पुनले घटनासँग सम्बन्धित प्रमाणका आधारमा प्रहरी प्रशासनले अब कस्तो कदम चाल्छ भन्ने विषयमा आफूहरूले प्रतीक्षा गरिरहेको बताउनुभएको छ । यस्तै उपाध्यक्ष प्रकाश भण्डारीले पनि मेलामा जुवातास र मदिरा नियन्त्रणमा प्रहरीको भूमिका कमजोर भएको सामाजिक संजाल फेसबुकमा भिडियोमार्फत उल्लेख गर्नुभएको छ । ‘मेलामा ९ जना प्रहरी कहाँ थिए होलान् , म आश्चर्यचकित भएँ ।’ उहाँले भन्नुभएको छ ।


























