२०८३ मङ्सिर ७ गते सोमवार

पूर्णकुमारीलाई हाम्रो पहुँचको साथ : बचतसँगै पशुपालन व्यवसायमा सफलता


दाङ । कुनै समय सहकारी भनेको बचत गर्ने ठाउँ मात्रै हो भन्ने बुझाइ थियो तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ५० वर्षीया पूर्णकुमारी खत्रीलाई ।

सहकारीमा आबद्ध भएर नियमित बचत गर्न थालेपछि उहाँले सहकारीको अर्को महत्त्वपूर्ण पक्ष पनि बुझ्नुभयो– त्यो हो, आवश्यक पर्दा सहज र सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्न सकिने सुविधा ।

यही सुविधाले उहाँको पशुपालन व्यवसाय विस्तारमा सहयोग पुगेको छ भने परिवारको आर्थिक अवस्थामा समेत सकारात्मक परिवर्तन आएको छ ।

पूर्णकुमारी खत्री तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध हुनुभएको करिब १३ वर्ष भइसकेको छ ।

सुरुमा बचत गर्ने उद्देश्यले सहकारीमा जोडिनुभएकी उहाँले समयक्रमसँगै सहकारीलाई आफ्नो आर्थिक गतिविधि अगाडि बढाउने भरपर्दो माध्यमका रूपमा लिन थाल्नुभयो ।

बचतसँगै आवश्यकताअनुसार कर्जा लिन सकिने र त्यसको सदुपयोग गरेर आम्दानीको स्रोत विस्तार गर्न सकिने भएपछि सहकारीप्रतिको उहाँको विश्वास अझ बढ्दै गएको छ ।

उहाँले सहकारीबाट हालसम्म दुई पटक कर्जा लिनुभएको छ । पहिलो पटक स्वरोजगार शीर्षकअन्तर्गत कर्जा लिएर पशुपालन व्यवसाय सुरु गर्नुभएको थियो ।

सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध भएपछि कृषि क्षेत्रमा लगानी गर्न सहज भएको उहाँ बताउनुहुन्छ । आफ्नै मेहनत र सहकारीबाट प्राप्त आर्थिक सहयोगलाई जोडेर उहाँले पशुपालन व्यवसायलाई क्रमशः विस्तार गर्दै लैजानुभएको हो ।

सुरुमा कृषि व्यवसायमा केन्द्रित हुनुभएकी पूर्णकुमारीले पछि बाख्रापालन, गाइपालन र भैँसीपालनलाई पनि आम्दानीको माध्यम बनाउनुभएको छ । अहिले उहाँको गोठमा पाँच वटा भैँसी र चार वटा गाई छन् भने ९ वटा बाख्रा छन् ।

भैसीपालनबाट दैनिक रूपमा दूध उत्पादन हुने गरेको छ । उहाँले दैनिक करिब १६ लिटर दूध बिक्री गर्दै आउनुभएको छ । दूध बिक्रीबाट नियमित आम्दानी हुन थालेपछि घरपरिवारको खर्च व्यवस्थापनमा समेत सहज भएको उहाँको अनुभव छ ।

कृषि तथा पशुपालन व्यवसायमा आम्दानीको सम्भावना भए पनि त्यसलाई निरन्तरता दिन आर्थिक स्रोत, पशुका लागि दाना, घाँस, मल, बीउ तथा अन्य आवश्यक सामग्रीको उपलब्धता सहज हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

विशेषगरी किसानले आवश्यक समयमा मल र बीउ सहज रूपमा पाउनुपर्ने उहाँको अपेक्षा छ । त्यस्तै, कृषि क्षेत्रमा लगानी गर्ने किसानलाई सहकारीले सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउन सके स्वरोजगार र आत्मनिर्भरताको बाटो थप सहज हुने उहाँको बुझाइ छ ।

‘कृषि व्यवसाय गर्न चाहने किसानलाई आर्थिक स्रोतको अभावले समस्या पारिरहेको हुन्छ । आवश्यक समयमा सुलभ ब्याजदरमा कर्जा पाउन सके आफ्नै गाउँठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’ उहाँ भन्नुभयो–‘त्यसैले किसानलाई मल, बीउ र कर्जाको सहज व्यवस्था हुन आवश्यक छ ।’

पूर्णकुमारीका लागि सहकारीको महत्त्व कर्जा लिनु र ब्याज तिर्नुमा मात्रै सीमित छैन । नियमित बचत गर्ने बानीको विकास हुनु पनि उहाँका लागि उत्तिकै महत्त्वपूर्ण उपलब्धि बनेको छ । लामो समयदेखि सहकारीमा बचत गर्दै आउनुभएकी उहाँको बचत रकम क्रमशः वृद्धि हुँदै गएको छ । सानो–सानो रकम नियमित रूपमा जम्मा गर्दा भविष्यका लागि राम्रो रकम संकलन हुने रहेछ भन्ने अनुभव उहाँले गर्नुभएको छ ।

अझ उहाँले आफ्नो परिवारलाई समेत बचतको संस्कारसँग जोड्नुभएको छ । परिवारका तीन जना सदस्य हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध छन् । थप दुई जना बालबालिकाको नाममा बाल बचतसमेत गर्दै आउनुभएको छ । यसले बालबालिकालाई सानै उमेरदेखि बचत गर्ने बानी सिकाउन र भविष्यका लागि आर्थिक आधार तयार गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

सहकारीबाट लिएको कर्जाको ब्याजमध्ये केही अंश फिर्ता हुने व्यवस्थाले पनि आफूलाई राहत मिलेको उहाँ बताउनुहुन्छ । कर्जा लिएर व्यवसाय सञ्चालन गर्दा ब्याज तिर्नुपर्ने भए पनि सहकारीको यस्तो व्यवस्थाले सदस्यलाई थप उत्साह मिल्ने उहाँको अनुभव छ । कर्जा लिन, व्यवसाय सञ्चालन गर्न र नियमित बचत गर्न पाउने सुविधाले सहकारीसँगको सम्बन्ध अझ बलियो बनेको उहाँ बताउनुहुन्छ ।

१३ वर्षको सहकारी यात्रालाई फर्केर हेर्दा पूर्णकुमारी आफ्नो निर्णयप्रति सन्तुष्ट हुनुहुन्छ । सुरुमा बचत गर्ने सामान्य उद्देश्यले सहकारीमा जोडिनुभएकी उहाँ अहिले सहकारीकै सहयोगमा कृषि तथा पशुपालन व्यवसायलाई निरन्तरता दिइरहनुभएको छ । पाँच वटा भैँसी र चार वटा गाई पाल्दै दैनिक दूध बिक्री गर्नु उहाँको मेहनत र लगनशीलताको परिणाम हो ।

पूर्णकुमारीको १३ वर्षे सहकारी यात्रामा बचत गर्ने बानीसँगै व्यवसाय विस्तार, नियमित आम्दानी र परिवारको आर्थिक सुरक्षाप्रतिको सोच पनि विकसित भएको छ । उहाँजस्ता सदस्यको अनुभवले सहकारीको वास्तविक सफलता कति रकम बचत भयो वा कति कर्जा प्रवाह भयो भन्ने तथ्याङ्कमा मात्रै नभई सदस्यको जीवनमा आएको परिवर्तनमा पनि मापन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण छ ।

सहकारीको साथ, आफ्नै मेहनत र उद्यमशील सोचलाई जोड्न सके गाउँमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पूर्णकुमारी खत्री बन्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस