दाङ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषले पेन्सन दिने प्रक्रिया सुरु गरेको छ । कोषका अनुसार योगदानकर्ताका परिवारको दाबीबमोजिम पेन्सन पाउनयोग्य भए वा नभएको परीक्षण गरेर पेन्सन दिने प्रक्रिया सुरु भएको हो । कोषले हाल १७४ जना योगदानकर्ताका परिवारको दाबीमाथि परीक्षण गरिरहेको जनाएको छ ।
पेन्सन प्रयोजनका लागि कोषले भदौमै रसुवाको हिमबाढी प्रभावित क्षेत्रका योगदानकर्ताको विवरण सङ्कलनका लागि निर्देशक उत्तमराज नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले कोषमा पेन्सन दाबीसहित आएका निवेदनको परीक्षण गरेर प्रक्रिया थालेको हो ।
कार्यदलका संयोजक आश्रित परिवारलाई सुविधा उपलब्ध गराउन प्रभावित क्षेत्रबाट विवरण सङ्कलन गरेर परीक्षण सुरु गरेको जानकारी दिनुभयो । हिमबाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् कम्पनी, बैङ्क तथा वित्तीय संस्था र ती कम्पनी वा वित्तीय संस्थामा काम गर्ने सुरक्षाकर्मीका परिवारबाट पेन्सनको दाबीसहित निवेदन आएको उहाँले बताउनुभयो ।
प्राप्त निवेदनउपर कोषले बाढीभन्दा अगाडिसम्म कोषमा नियमित योगदान गरे वा नगरेको विषयमा परीक्षण गरिरहेको उहाँले बताउनुभयो । रसुवाको बाढीबाट १५ स्थानीय तहमा रहेका सूचीकृत ३९ रोजगारदाता प्रभावित भएको कोषले जनाएको छ ।
कोषका अनुसार अहिलेसम्म आजीवन निवृत्तिभरणको सुविधा पाउने परिवारको सङ्ख्या एक हजारभन्दा बढी पुुगेको छ । कोषका अनुसार आश्रित परिवार योजना अन्तर्गत हालसम्म ४० करोड ५८ लाख ५२ हजार रुपियाँ निवृत्तिभरणमा गएको छ । योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ता आश्रित परिवारलाई न्यूनतम मासिक चार हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म निवृत्तिवरण कोषले उपलब्ध गराइरहेको छ ।


























