दाङ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–४ बनहरीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट स्थानीय गणेश घर्ती मगरका पाँच वर्षीय छोरा क्यान्सु घर्ती मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हिजो बुधबार साँझ करिब साढे ६ बजेतिर खाद्रेबाट प्रसेनस्तर्फ जाँदै गरेको रा.४ प. ८७९९ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल सल्यानको छत्रेश्वरी गाउँपालिका–६ निवासी २२ वर्षीय रामप्रसाद बुढाथोकीले चलाएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतीपुर लगिएको थियो । उपचारकै क्रममा साँझ ७ बजेतिर चिकित्सकले बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


























