२०८३ मङ्सिर ७ गते सोमवार

सरस्वती आधारभूत विद्यालयले मनायो, ४६ औँ वार्षिकोत्सव


सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–५, जामुनेचौरस्थित सरस्वती आधारभूत विद्यालयले शुक्रबार ४६ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँशीराम रेउलेको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पुनले बालबालिकाको शैक्षिक भविष्य निर्माणमा विद्यालय र अभिभावक दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालय पठाउँदैमा अभिभावकको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै उहाँले घरमै अध्ययनका लागि अनुकूल वातावरण निर्माण गर्न र बालबालिकाको पढाइप्रति चासो राख्न अभिभावकलाई आग्रह गर्नुभयो ।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विद्यालयको भौतिक संरचना विकासमा पालिकाले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि विद्यालयका आवश्यक सामग्री खरिदलगायतका काममा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले सरस्वती आधारभूत विद्यालयलाई गाउँपालिकाकै नमुना विद्यालयका रूपमा स्थापित गर्न विद्यालय प्रशासन, शिक्षक र अभिभावक सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक सनिता कँवरले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थासहित हालसम्म हासिल गरेका प्रगति र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बहादुर विक, जीवन ज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल साहु , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भूपेन्द्र बोहरालगायतले विद्यार्थीको शैक्षिक उपलब्धि सुधारका लागि विद्यालय, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक गीता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णु बुढाथोकीले गर्नुभएको हो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयको विकासमा योगदान पुर्‍याउने सहयोगीदातालाई सम्मानपत्र प्रदान गरिएको थियो । साथै, विद्यालयमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र गत शैक्षिक सत्रको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न आमा समुह तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस