दाङ । घोराही–मुर्कुटी–प्यूठान सडकअन्तर्गत घोराही–कमिरेचौर सडकखण्ड जीर्ण बनेको छ । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर हिँड्ने टिपरका कारण कालोपत्रे सडक जीर्ण बनेको हो ।
सडक लामो समयसम्म मर्मत नहुँदा खाल्डाखुल्डीसँगै धुलोको समस्या बढेको छ । घोराही–मुर्कुटी सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१८, सिस्नेखोलादेखि बंगलाचुली गाउँपालिका–४, तापा कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको हो ।
सडक डिभिजन कार्यालय दाङ र लुम्बिनी–जलजला जेभीबीच करिब पाँच वर्षभित्र सडक निर्माण गर्ने गरी ३४ करोड १६ लाख ६६ हजार रुपियाँमा २०७२ असारमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले आर्थिक वर्ष २०७७र७८ मा सडक कालोपत्रे गरेको थियो । सडक कालोपत्रे भए पनि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपरका कारण सडक पुनः धुलाम्मे बनेको बंगलाचुली गाउँपालिका–४, कमिरेचौर निवासी दुर्गाबहादुर पुनले बताउनुभयो ।
बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा अवस्था झन् कमजोर बन्दै गएको र धुलोका कारण स्थानीयले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । बंगलाचुली गाउँपालिकासँगै प्यूठानलाई घोराहीसँग जोड्ने मुख्य सडक बिग्रिएपछि मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि विवादका कारण काम हुन नसकेको बंगलाचुली गाउँपालिका–४ का वडाध्यक्ष डासबहादुर डाँगीले बताउनुभयो ।
कालोपत्रे गरिएको सडक सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपरका कारण बिग्रिएको दाबी गर्दै निर्माण कम्पनीले क्षतिपूर्ति माग गरेको छ । डिभिजन कार्यालयले भने निर्माण कम्पनीले काम सम्पन्न नगर्दै सडक बिग्रिएकाले पुनः निर्माण गर्नुपर्ने बताउँदै आएको छ । यही विवादका कारण दुवै पक्ष मध्यस्थतादेखि अदालतसम्म पुगेका छन् । अदालतबाट फैसला नहुँदा सडक मर्मत हुन सकेको छैन ।
ठेक्का सम्झौताअनुसार सडक निर्माणका क्रममा घोराही–तापाचोक खण्डमा २६ करोड ४० लाख र तापाचोक–मुर्कुटी खण्डमा १८ करोड ६९ लाख रुपियाँ खर्च भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । –गोरखापत्र अनलाइन


























