२०८३ मङ्सिर ७ गते सोमवार

फूलले जुराएको सम्बन्ध

माटोमा रोपिएका बिरुवाले मनहरूमा फुलाएका आत्मीयताका फूलहरू !

कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर उपलब्धिहरू हामीले योजनामा कोरेका हुँदैनौँ।

ती त अनायासै सुरु भएका यात्राका पाइलापाइलामा भेटिन्छन्।

हामी कुनै एउटा सपना पूरा गर्ने उद्देश्यले अघि बढिरहेका हुन्छौँ, तर समयले त्यही यात्रामा हामीलाई त्यसभन्दा कैयौँ गुणा अमूल्य उपहारहरू थमाइदिन्छ। मेरो यस वर्षको तिहार निकै विशेष रह्यो।

किनकि मैले यसपटक खेतलाई सयपत्री फूल ले सजाइदिन सफल भए। मैले सयपत्रीका फूल मात्र फुलाइनँ, फूलसँगै सम्बन्ध, सद्भाव, आत्मीयता र सम्भावनाका अनेकौँ रङहरू पनि फुलाउने अवसर पाएँ।

मेरो एउटा सानो सोच थियो आफ्नै माटोमा केही गरौँ, आफ्नै श्रम र पसिनाले जमिनलाई सुन्दर बनाऔँ, अनि तिहारको उज्यालोसँगै सयपत्रीको सुगन्ध घरघरमा पुर्‍याऔँ। यही सामान्य सोचले एउटा असामान्य यात्राको सुरुवात गर्‍यो।

खेतको माटो खोतल्नेदेखि बिरुवा रोप्नेसम्म, मलजल गर्ने, गोडमेल गर्ने, अनावश्यक झार उखेल्ने, बिरुवालाई काँटछाँट गर्ने र फूलको प्रतीक्षामा दिन गन्नेसम्मका हरेक क्षणमा एउटा सपना हुर्किरहेको थियो।

खेती गर्नु भनेको केवल माटोमा बीउ रोप्नु रहेनछ, यो त आफ्नो धैर्यलाई जमिनमा रोपेर आशालाई मलजल गर्नु पनि रहेछ। बिरुवा हुर्काउन जति मिहिनेत लाग्छ, सपना हुर्काउन पनि त्यति नै धैर्य चाहिने रहेछ।

कहिले चर्को घामले शरीर गलाउँथ्यो, कहिले हात भरी मिहिनेतका ठेला देखिन्थ्यो, कहिले हावाहुरीले हुर्कँदै गरेका  बिरुवालाई लडाउँथ्यो, कहिले वर्षाले आशामाथि नै प्रहार गर्थ्यो।

कुनै दिन खेतमा उभिएर आफ्नै मेहनतको भविष्य अनिश्चित देखिन्थ्यो। कतिपय क्षणमा थकानले शरीरभन्दा बढी मनलाई भारी बनाउँथ्यो। तर पनि भोलिपल्ट फेरि खेत पुग्ने हिम्मत जुट्थ्यो।

किनकि ती बिरुवाहरू केवल बिरुवा थिएनन्, तिनमा मेरो समय, श्रम, सपना र आत्मविश्वासका अंशहरू मिसिएका थिए। कहिले फूल को सुगन्ध ले भोक नै हरायो, काम गरिरहँदा कति छाक खाना फूल हेरेरै टर्यो। सायद किसान हुनुको सबैभन्दा सुन्दर पक्ष पनि यही हो; आजको मेहनतले भोलि कस्तो प्रतिफल दिन्छ भन्ने निश्चित नहुँदा पनि आशा गर्न नछाड्नु।

दिनहरू बित्दै गए। साना बिरुवाहरू बिस्तारै हुर्किए, हरियाली बाक्लिँदै गयो र एक दिन खेतभरि सयपत्रीका रङहरू मुस्कुराउन थाले। लाग्थ्यो, प्रकृतिले मेरो धैर्यको जवाफ फूलका पत्रपत्रमा लेखिदिएको छ।

ती पहेँला रङहरू केवल फूलका रङ थिएनन्, ती मेरा संघर्षका उज्याला पानाहरू थिए। प्रत्येक फुलेको फूलमा एउटा बिहानको पसिना थियो, एउटा साँझको थकान थियो र एउटा रातको अधुरो चिन्तालाई जितेर अर्को दिन फेरि उठ्ने साहस थियो।

तर फूल फुल्न थालेपछि मेरो यात्राले एउटा नयाँ मोड लियो। मैले कल्पना गरेको थिएँ; यी फूलहरू तिहारमा बिक्री हुनेछन्, घरआँगन सजाउनेछन् र मानिसहरूको खुसीमा सहभागी हुनेछन्।

तर कल्पनाभन्दा धेरै फराकिलो संसार मेरो प्रतीक्षामा रहेछ। यस यात्रामा पत्रकार साथीहरूको भूमिका विशेष रह्यो। उहाँहरूले मेरो मिहिनेतलाई समाचारका शब्दहरूमा उतार्नुभयो र मेरो सानो प्रयासलाई धेरैको नजरसम्म पुर्‍याउनुभयो।

विभिन्न क्षेत्रका व्यक्तित्व, कृषिप्रेमी, सामाजिक अभियन्ता, शुभचिन्तक, साथीभाइ तथा अपरिचित मनहरूले देखाउनुभएको चासो र सद्भावले मलाई निरन्तर अघि बढ्ने ऊर्जा प्रदान गर्‍यो। कसैले फूल खरिद गरेर साथ दिनुभयो, कसैले अरूलाई चिनाएर, कसैले सुझाव दिएर, कसैले हौसला थपेर त कसैले टाढैबाट शुभेच्छा पठाएर यो यात्रालाई आफ्नो पनि बनाइदिनुभयो।

त्यसपछि महसुस भयो फूलको व्यापार केवल मूल्य र परिमाणको हिसाबकिताब रहेनछ। कतिपयले फूल किन्दा एउटा माला मात्र लिएर जानुभएन, मेरो मेहनतप्रतिको सम्मान पनि व्यक्त गर्नुभयो।

कतिपयले फूलको प्रशंसा गर्दा मेरो आत्मविश्वास बढाइदिनुभयो। कतिपयले चिनजानको हात बढाउँदा भविष्यका सम्भावनाका ढोकाहरू खोलिदिनुभयो। फूल किन्ने र बेच्ने सम्बन्धभन्दा माथि उठेर आत्मीयता साट्ने एउटा सुन्दर अवसर प्राप्त भयो।

वास्तवमा, फूलको सुन्दरता यसको रङमा मात्र सीमित हुँदैन रहेछ। फूलको असली सामर्थ्य त मानिसका मनहरूलाई जोड्न सक्ने यसको अद्भुत गुणमा रहेछ। एउटै फूल कसैको घरको ढोकामा सजिन्छ, कसैको पूजाको थालीमा पुग्छ, कसैको प्रियजनको हातमा उपहार बन्छ त कसैको जीवनका विशेष क्षणहरूको साक्षी बन्छ।

फूलको आयु छोटो होला, तर यसले जन्माउने भावना र सम्झनाको आयु निकै लामो हुँदो रहेछ। यो खेतीले मलाई आर्थिक हिसाबकिताबभन्दा परको एउटा ठूलो पाठ सिकायो। श्रमको मूल्य सधैँ पैसामा मात्र नापिँदैन रहेछ। कहिलेकाहीँ कुनै प्रयासले कमाएको पहिचान, जोडिएका सम्बन्ध, प्राप्त भएको विश्वास र आफूभित्र जागेको आत्मबल नै सबैभन्दा ठूलो प्रतिफल बन्न पुग्दो रहेछ।

मैले यस यात्रामा फूलका लागि माटो खनिरहेँ, तर यसै क्रममा आफ्नै सम्भावनाका ढोकाहरू पनि खोलिरहेकी रहेछु। मैले बिरुवालाई सहारा दिइरहेँ, तर ती बिरुवाले नै मलाई परिस्थितिसँग जुध्न सक्ने साहस दिइरहेका रहेछन्।

मैले फूललाई बजारसम्म पुर्‍याउने बाटो खोजिरहेँ, तर ती फूलहरूले मलाई नयाँ मानिसहरू, नयाँ अनुभव र नयाँ सम्भावनाहरूसम्म पुर्‍याइदिए।

कहिलेकाहीँ एउटा सानो प्रयासले पनि ठूलो परिवर्तनको ढोका खोल्न सक्छ। त्यसका लागि सुरुवात ठूलो हुनुपर्दैन, सोच इमानदार र प्रयास निरन्तर हुनुपर्छ। समाजमा केही गर्नका लागि ठूलो पुँजी, ठूलो पहुँच वा ठूलो परिचय नै चाहिन्छ भन्ने पनि रहेनछ।

आफ्नै माटोमा इमानदार भएर गरिएको सानो कर्मले पनि देशभरिका मानिसहरूको ध्यान तान्न र मनहरू जोड्न सक्दो रहेछ।

आज तिहार सकिएको छ। फूलहरू बिक्री भइसके, कतिपय माला बनेर घरका ढोकामा झुन्डिए, कतिपय पूजाका थालीमा चढे र कतिपयले कसैको खुसीलाई अझ सुन्दर बनाए। फूलबारीको चहलपहल पनि बिस्तारै शान्त भएको छ।

तर मेरो मनमा भने त्यो फूलबारी अझै हराभरा छ। त्यहाँ आज पनि ती सबै अनुहारहरू मुस्कुराइरहेका छन्, जसले कुनै न कुनै रूपमा मेरो प्रयासलाई साथ दिनुभयो। ती शुभकामनाहरू अझै ताजा छन्, ती आत्मीय संवादहरू अझै स्मरणमा छन् र ती सम्बन्धहरू आज पनि सुन्दर फूलझैँ फुलिरहेका छन्। अब लाग्छ, मैले यो वर्ष खेतमा सयपत्री मात्र रोपेकी थिइनँ।

मैले विश्वासका बीउ रोपेकी रहेछु, जसबाट आत्मीयताका सम्बन्ध उम्रिए। मैले मिहिनेतको मलजल गरेकी रहेछु, जसबाट आत्मविश्वासका फूल फुले। मैले पसिना बगाएकी रहेछु, जसबाट पहिचानको सुगन्ध फैलियो। र मैले एउटा सानो सपना पछ्याएकी रहेछु, जसले मलाई अनगिन्ती मनहरूसँग जोडिदियो। सायद यही नै मेरो यस वर्षको तिहारको सबैभन्दा ठूलो कमाइ हो।

फूलहरू तिहारसँगै ओइलाए होलान्, तर फूलले जोडिदिएका सम्बन्धहरू अझै ताजा छन्। फूलको सुगन्ध हावामा हराएर जाला, तर त्यसले मनमा छोडेको आत्मीयताको सुवास कहाँ हराउँछ र!

अन्त्यमा, यो फूलखेतीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण हातहरू, साथहरू, शुभेच्छुकहरू, पत्रकार साथीहरू, फूलका ग्राहकहरू र मेरो प्रयासलाई आफ्नो सम्झेर माया गर्नुहुने सबैप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथले मेरो एउटा सानो प्रयासलाई साझा खुसीको यात्रामा परिणत गरिदिएको छ।

आगामी दिनमा पनि आफ्नै माटो, आफ्नै श्रम र आफ्नै सम्भावनामा विश्वास गर्दै केही नयाँ गर्ने उत्साह जीवित राख्नेछु। किनकि अब मलाई थाहा भएको छ हामीले माटोमा रोपेको हरेक बीउले फल मात्र दिँदैन, कहिलेकाहीँ जीवनभर सम्झनलायक सम्बन्धहरू पनि दिएर जान्छ। यो केवल सयपत्री फूल फुलेको कथा होइन, यो त पसिनाले सपना सिँचेको, श्रमले पहिचान बनाएको र फूलले मनहरू जोडेको एउटा सुन्दर यात्राको कथा हो।

फूलले खेत सजायो, सम्बन्धले मन सजायो। माटोले उत्पादन दियो, यात्राले पहिचान दियो। र अन्तत; फूलले जुराएको सम्बन्ध नै मेरो यस वर्षको तिहारको सबैभन्दा सुन्दर उपहार बन्यो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस