दाङ । तुलसीपुरमा होटेलका खानेकुरामा अखाद्य रंगको प्रयोग अत्याधिक हुने गरेको भेटिएको छ । स्वास्थ्यमा गम्भिर असर हुने किसिमले होटलका खानेकुरामा रातो रंग अत्याधिक प्रयोग हुने गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले मंगलबार तुलसीपुरमा संयुक्तरुपमा गरेको अनुगमनका क्रममा तुलसीपुरमा संचालित होटलमा अखाद्य रंगको प्रयोग अत्याधिक हुने गरेको भेटिएको हो । करिब एक दर्जन बढी होटल तथा पसलमा गरिएको अनुगमनको क्रममा अधिकांश होटलमा सरसरफाईको पनि कमी देखिएको छ ।

यस्तै अनुगमनको क्रममा तुलसीपुर–५ मा रहेको डिलाइट कर्नरसहित बसपार्क आलुमण्डी नजिक रहेको भण्डारी खाजा घर, न्यू सल्यानी मालिका होटेल, भावाङी रेष्टुरेन्ट लगायतका होटलमा खानेकुरामा रंगको प्रयोग अत्याधिक मात्रामा हुने गरेको भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका सूचना अधिकारी सूदर्शन गोसाँइले खानेकुरामा रंगको प्रयोग हुँदा स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भएकाले अखाद्य रंगको मिसावट नगर्न निर्देशन दिनुभएको छ । उहाँले पटक–पटक एउटै कार्य दोहोरिएमा कानुन बमोजिम कार्बाही गरिने समेत चेतावनी दिनुभएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले अनुगमनपछि होटलमा केहि सुधारता आउने गरेको बताउनुभयो । उहाँले उपभोक्ता पनि सचेत भएमा अखाद्यवस्तुको बिक्रि वितरणमा कमी ल्याउन सकिने बताउनुभयो ।
अनुगमनको क्रममा खानेकुरा पत्रिकाले बेरेर राख्ने गरिएको समेत फेला परेको छ । यस्तै पलाउ फ्रेस हाउसमा मासु सडेको अवस्थामा फेला परेको छ भने म्याद नाघेका फेन्टा जफत गरिएको छ । यस्तै डिलाइट कर्नरबाट म्याद गएको रियल जुस, डिलाइट बेकरी सपबाट म्याद गएको बिस्कुट जफत गरिएको छ ।

यस्तै बसपार्कको आलुमण्डीमा रहेको न्यू सल्यानी मालिका होटेल, भण्डारी खाजा घर लगायतलाई तत्काल तीन दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमन टोलिले निर्देशन दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्मा, तुलसीपुर–५ का सदस्य भीमबहादुर केसी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका सूचना अधिकारी सुदर्शन गोसाँई, तुलसीपुर उपमहानगरपालिका बजार व्यवस्थापन शाखाका खेमकान्त पाण्डे, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगी र पत्रकारको उपस्थितिमा होटल तथा मार्टको अनुगमन गरिएको हो । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको छ ।















