रोल्पा । रोल्पाका सहिदमार्ग तथा ग्रामीण भेगका भित्री सडकहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित दुर्घटनाको जोखिम न्यून गर्नका लागि जिल्ला सुरक्षा समितिले भदौ १५ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५ः३० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको प्रस्तावमा शनिबार आकस्मिक रूपमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले निर्णयलाई अनुमोदन गरेको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहालले बैठकको निर्णय अनुसार यातायात रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रजिअ दाहालका अनुसार हालको मौसममा लगातारको वर्षाका कारण सहिदमार्ग र अन्य ग्रामीण सडकहरू बारम्बार पहिरो तथा ढुंगा खस्ने घटनाले अवरुद्ध हुने गरेको हुँदा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
यद्यपि बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने विभिन्न स्थानमा खटिएका प्रहरी इकाइका अधिकारीहरूको अनुमति एवं जाँचपछि सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ ।
यस निर्णयले सहिदमार्ग हुँदै राजधानी, दाङ, रुकुम तथा रोल्पा जाने रात्रि बस सेवामा प्रत्यक्ष असर परेको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै नुवागाउँ, गैरीगाउँ, घर्तीगाउँ, दुईखोली, कुरेली, थबाङ र रुकुम पूर्वसम्म निर्माणाधीन सहिदमार्गमा साना तथा ठूला दर्जनौँ गाडीहरू चल्दै आएका थिए ।
सडक निर्माण कार्य सुस्त गतिमा भएकाले वर्षाको समयमा सडकहरू अवरुद्ध हुने क्रम नरोकिएको सहिदमार्ग सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर माधव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुल्ला राख्न विभिन्न स्थानमा उद्धार टोली परिचालन गरिएको छ । तर प्रजिअ दाहालका अनुसार अधिकांश स्थानमा पहिरो र ढुंगा खसेर सहिदमार्ग अवरुद्ध हुने गरेको छ ।















