दाङ । ६८ औँ राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा शनिबार घोराहीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला सहकारी संघ लि. दाङ र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार, प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले राज्यको कमजोरीका कारण सहकारीमा केही समस्या आएको बताउदै देखिएको दुई प्रतिशत जति समस्यालाई राज्य पक्षले नै उछालेर सम्पूर्ण सहकारी नै गलत हुन भन्ने भाष्य निर्माण गरेको बताउनुभयो ।
नेपाल जस्तो देशमा स्थानीय आर्थिक विकासको एक मात्र माध्यम सहकारी भएको बताउदै उहाँले नेपालको उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सहकारी क्षेत्रमा बजेट विनियोजन गर्न तयार नहुने र विनियोजन भएको बजेट समेत कार्यान्वयन नगरी बजेट फ्रिज गराउने गरेको बताउनुभयो ।
उहाँले अहिलेको सहकारी अभियानको जोडदार र एकताबद्ध प्रयत्नको आवश्यकता रहेको बताउनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गोैतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकार, प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका महासचिव शुक्रराज भण्डारीले अवधारणा पत्र प्रस्तुत गर्नु भएको हो ।
अवधारणा–पत्र प्रस्तुत गर्दै महासचिव भण्डारीले सुन्दर समाज र गुणस्तरीय जीवनयापनका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो ।
उहाँले समाप्त हुदै गएको मानविय मूल्य मान्यता स्थापित गर्न तथा धनि र गरिब बिचको खाडल कम गर्न सबै व्यवस्थामा सहकारी माध्यमको उपयोग हुँदै आएको बताउनुभयो ।
उहाँले नेपालको सन्दर्भमा राज्य र नागरिकका बिचमा हुने सहकार्य मोडलको विकासले मात्रै नागरिकको अवस्थामा रूपान्तरण ल्याउन सकिने बताउनुभयो । सहकारी अभियान राज्य संग सहकार्य गर्न तत्पर रहेको तर राज्यका नीतिहरू सहकारीमैत्री हुन नसक्दा उपलब्धिपूर्ण काम हुन नसकेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख प्रेम केसी, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्दप्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विमल अधिकारी, जिल्ला कृषि सहकारी संघ लिका अध्यक्ष पद्मा आचार्य, दाङ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद गौतम, राष्ट्रिय सहकारी बैंक घोराही शाखाका प्रबन्धक प्रदिप अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय दाङका प्रबन्धक बिष्णु जोसी तथा सहभागिका तर्फबाट सरस्वती सुवेदी, शसिधर भण्डारी लगायतले मन्तब्य राख्नु भएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड दाङका बरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन संघका सचिव इन्द्र बहादुर बुढाथोकीले गर्नु भएको हो ।
६८ओैं राष्ट्रिय सहकारी दिवस ‘मर्यादित सहकारी : समुन्नत समाज’ भन्ने मूल थिमका साथ दाङमा साताव्यापी कार्यक्रमहरू भैरहेका छन् । आइतबार (भोलि १७ गते) घोराही–१० नारायणपुरस्थित मानव कल्याण समाज (सेवा घर) मा खाद्य सामग्री वितरण, १८ गते रेडक्रस दाङ घोराहीमा रक्तदान कार्यक्रम, १९ गते घोराही उपमहानगरपालिकाको सभाहलमा अन्तरसहकारी हाजिरी जवाफ प्रतियोगिता र २० गते जिल्ला स्तरियमा मूल समारोहका रूपमा होटल मालाइन घोराहीमा र सबै पालिकाहरूमा सहकारी दिवसका कार्यक्रमहरू आयोजना गर्ने कार्यक्रम रहेको छ ।












