दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले यस वर्षको चाडपर्वमा सहुलियत मूल्य पसलमार्फत करिब १० लाख रुपैयाँ बराबरको चामल बिक्री गरेको छ ।
कार्यालयका अनुसार कात्र्तिक ११ गतेसम्म ११६ क्विन्टल ७५ किलो चामल बिक्री भई ९ लाख ७२ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको हो ।
कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीका अनुसार स्टिम जिरा मसिनो चामल १०० क्विन्टल २५ केजी बिक्री भई ८ लाख ३४ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै अरुवा सोना मंसुली चामल एक क्विन्टल २५ केजी चामल ७ हजार ३७५ रुपैयाँको बारोकार भएको छ ।
डाँगीका अनुसार यस वर्ष खाद्यले चामल र चिनी मात्रै बिक्री गरेको हो । चिनी १२ क्विन्टल बिक्री हुँदा १ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको उहाँले बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष चामल बिक्री केही कम भएको कार्यालयले जनाएको छ । खाद्यलाई यस वर्ष २०० क्विन्टल चामल बिक्री गर्ने कोटा निर्धारण गरिएको भए पनि हालसम्म सो कोटा पूरा हुन सकेको छैन ।

गत वर्ष भने २०० क्विन्टल २५ केजी चामल बिक्री भएको थियो । यो वर्ष चामल र चिनी मात्र राख्ने र अन्य वस्तुहरू समावेश गर्न नसक्दा बिक्री घटेको हुनसक्ने डाँगीले बताउनुभयो ।
उहाँका अनुसार कार्तिक ११ गतेसम्म बिक्री हुने भनिए पनि कोटा नपुगेकाले हाल पनि चामल वितरण जारी छ ।
केन्द्रबाट कोटापूर्ति नहुँदासम्म पसल सञ्चालन गर्न निर्देशन प्राप्त भएकाले सहुलियत पसल सञ्चालनमै रहेको जानकारी उहाँले दिनुभयो ।















