२०८२ चैत्र १९ गते बिहिवार

देशभर १० लाख १६ हजार बढी मतदाता थप


दाङ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । आज सोमबार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ । गत २०७९ सालको निर्वाचनमा ८७ दलहरुले निर्वाचनमा भाग लिएका थिए । उहाँले दलहरुको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी दिनुभयो । उहाँले निर्वाचनमा प्रयोग गरिने ५१ सामग्रीहरु आयोगले पहिचान गरेको जानकारी दिनुभयो ।

ती सामग्रीमध्ये ३७ वटा सामग्रीहरु जिल्लास्तरबाट नै खरिद गर्ने र बाँकी १४ वटा सामग्रीहरु मात्रै आयोगले खरिद गरेर उपलब्ध गराउनेगरी काम भइरहेको बताउनुभयो । उहाँले पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्रीका सम्बन्धमा नपुग सामग्री मात्र खरिद गर्नेगरी आयोगले प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

उहाँले मुलुकभर निर्वाचनको वातावरण बनाउन सुरक्षा निकाय एवं सरकारसँग आयोगले निरन्तर छलफल र परामर्श गरिरहेको जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस