दाङ । दङ्गाली निर्देशक, निर्माता एवं कलाकार ऋषिराज आचार्यद्वारा निर्देशित पछिल्लो फिल्म ‘द्रौपदी’ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । फिल्मका निर्देशक तथा प्रमुख कलाकार आचार्य सहभागी ‘द स्टोरीटेलर युनिभर्स’ कार्यक्रममा ‘द्रौपदी’ लाई ‘उत्कृष्ट दक्षिण एसियाली चलचित्र’ अवार्ड मिलेको हो ।
अमेरिकामा फिल्मले प्राप्त गरेको सफलता आफ्नो मात्र नभएर पुरै फिल्म क्षेत्रको भएको निर्देशक आचार्यले बताउनुभयो । यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा पुर्याउन मद्दत मिल्ने उहाँको भनाई छ ।
दुई दशक भन्दा लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा कृयाशिल आचार्यले आधा दर्जन चलचित्र र एक हजार बढी एपिसोड टेलिचलचित्रको निर्माण तथा निर्देशन गरिसक्नु भएको छ । केन्द्रीय चलचित्र जाँच समितको सदस्यसमेत भइसकेमा आचार्य अब ठुलो क्यान्भासको मल्टिस्टारर फिल्मको तयारीमा रहनु भएको छ ।

२०८१ चैतमा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको ‘द्रौपदी’ कर्णालीमा रहेको बहुपति प्रथाको कथामा बनेको मौलिक फिल्म हो । डोल्पाको शे–फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन भएको फिल्ममा निर्देशक ऋषिराजको अलवा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीको अभिनय छ ।
















