दाङ । दाङको तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले मंगलबार ५५ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । सामुदायिक विद्यालयमा देशकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको मेघा विद्यालयले मंगलबार ५५ औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको प्रगति विवरण पेश गर्दै विद्यालयमा कक्षा १ देखि १२ सम्म अहिले २ हजार ५ सय ८९ जना विद्यार्थी अध्ययन रहेको बताउनुभयो । उहाँले विद्यालयको औषत सिकाई उपलब्धि २ दशमलव ८४ जिपिए रहेको र आगामी शैक्षिक वर्षमा ३ जिपिएभन्दा माथि पुर्याउने बताउनुभयो ।

मावि तुलसीपुर सेन्टरमा आवद्ध शिक्षक कर्मचारी र विद्यालय व्यवस्थापन समिति पदाधिकारीका छोराछोरीले सोहि विद्यालयमै अनिवार्यरुपमा पढाउनुपर्ने प्रावधान समेत रहेकोले अभिभावकको थप विश्वास जितेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीको संख्या धेरै हुँदा कक्षाकोठाको समेत अभाव हुन थालेको बताउनुभयो ।
विद्यालयमा दाङसहित रोल्पा, सल्यान, जुम्ला लगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । विद्यालयमा प्राविधिक धारतर्फ पनि पठनपाठन भइरहेको छ भने संगित कक्षा समेत संचालन भइरहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारी, नेपाली कांग्रेसका नेता सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्मा, लक्ष्मी माविका प्रधानाध्यापक प्रेम वली, मावि बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी लगायतले शैक्षिक प्रगतिमा मावि तुलसीपुर सेन्टर उदाहरणिय बनेको भन्दै नेतृत्वको प्रशंसा गर्नुभयो । कार्यक्रमको सहजीकरण भोलाप्रसाद पौडेल र मेनुका राजकोटीले गर्नुभएको हो ॥















