दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको मिलिजुली सरसफाइ समितिले भैलो खेलेर संकलन भएको रकमलाई सामाजिक कार्यमा परिचालन गरेको छ ।
समितिले तिहारको अवसरमा भैलो खेलेर जम्मा गरेको रकम र सदस्यहरूको नियमित बचत समेत गरी करिब २ लाख ५० हजार रुपैयाँको लागतमा बिजौरीमा ‘शिवद्वार’ अर्थात् स्वागत गेट निर्माण गरेको हो ।
नवनिर्मित द्वारको बुधबार तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले उद्घाटन गर्नुभएको हो । मिलिजुली सरसफाइ समितिकी अध्यक्ष नबिना केसीको अध्यक्षता एवं वडाध्यक्ष वलीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

प्रमुख अतिथि वलीले संस्कृतिको जगेर्ना गर्दै संकलित रकमलाई गाउँको विकासमा खर्चनु सबैका लागि प्रेरणाको विषय भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले तुलसीपुर १८ का अध्यक्ष कमान सिंह खड्का, नेपाली कांग्रेसका सचिव बिदुर गौतम, रास्वपाका शिवराज केसी, समितिका सल्लाहकारहरू गोविन्द पोख्रेल र डिल्ली केसी र प्रेस सल्लाहकार सुनिल पोख्रेल लगायतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रममा प्रहरी चौकी हेमन्तपुरका वरिष्ठ सई दल बहादुर बुढाको पनि उपस्थिति रहेको थियो ।

सचिव रविराज गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । यस्तै पार्बता बस्नेतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा समितिकी अध्यक्ष नबिना केसी सपरिवार अमेरिका प्रस्थान गर्न लाग्नुभएकोमा अध्यक्ष केसीले आफ्नो अनुपस्थितिमा संस्थाको आगामी अधिवेशन नहुँदासम्मका लागि बादल पारि डाँगीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।
मिलिजुली सरसफाइ समितिले विगतदेखि नै टोलमा विभिन्न सकारात्मक अभियानहरू चलाउँदै आएको छ । समितिले टोल सरसफाइ अभियान सञ्चालन गर्नुका साथै बिजौरी बजारदेखि टोलसम्म सडक बत्ती जडान गरेर गाउँलाई उज्यालो बनाउने कार्यमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।















