दाङ । समाजमा शिक्षा र चेतनाको स्तर बढ्दै गए पनि महिला तथा बालिकामाथि हुने यौन हिंसा र दुर्व्यवहारका घटना नघटेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
हिंसा न्यूनीकरणका लागि घरपरिवारबाटै नैतिक शिक्षा र असल संस्कारको विकास गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
दलित महिला संघ दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा दुर्व्यवहार न्यूनीकरण’ विषयक अन्तरक्रियामा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
सहभागीहरूले कानुन कार्यान्वयनको पक्ष फितलो हुँदा बलात्कार तथा हत्याजस्ता जघन्य अपराधका घटना बढ्दै गएको बताएका छन् । संघले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का विभिन्न टोल विकास संस्थाका पदाधिकारी र प्रतिनिधिलाई सहभागी गराएर हिंसा न्यूनीकरणका उपायबारे छलफल गराएको हो ।
कार्यक्रममा किशोरी प्रेरणा परियारले समाजमा अझै पनि महिला र बालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनुभयो । उहाँले बलात्कार मात्र हिंसा नभएर गलत मनसायले हेर्नु पनि हिंसा भएको उल्लेख गर्दै व्यक्तिको सोच परिवर्तन नहुँदासम्म कानुन कार्यान्वयन चुनौतीपूर्ण हुने बताउनुभयो ।
यस्तै, रुपनी चौधरीले अभिभावकले बालबालिकालाई नैतिक ज्ञान दिनुपर्नेमा जोड दिँदै हिंसामा परेका मुक्तकमलहरीहरूले अझै न्याय पाउन नसकेको स्मरण गर्नुभयो । यस्तै आशा नेपाली, पदमा विक, कमला परियार र अर्जुननाथ योगीले घरपरिवार र समाजबाटै असल संस्कारको जग बसाल्नुपर्ने धारणा राख्नुभयो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी (वर्षात) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा अध्यक्ष भण्डारीले हिंसा न्यूनीकरणका लागि समाजमा असल संस्कारको खाँचो रहेको बताउँदै अन्य समुदायको तुलनामा दलित समुदायका महिलाहरू बढी पीडित हुने गरेको उल्लेख गर्नुभयो । उहाँले समाजमा कतिपय पुरुष पनि हिंसामा परेको बताउनुभयो ।
यस्तै, समाजसेवी राम बहादुर जिसीले शिक्षित समाजमा समेत भ्रुणमै छोरीको हत्या गर्ने गलत परम्परा कायमै रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले छोरी जन्मनुमा महिलालाई दोष दिने परम्परालाई विज्ञानले गलत सावित गरेको बताउनुभयो ।
दलित अधिकारकर्मी खेमराज विश्वकर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा भएका हिंसाका घटनामा दलित समुदायका बालिकाहरू धेरै पीडित भएको देखिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य यमुना परियार, वडा सदस्य देवी पोखरेल लगायतले नैतिक शिक्षाको आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको सहजीकरण सचिव गंगा विश्वकर्माले गर्नुभएको हो ।















