दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोल पूर्वी रजौरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन हुने भएको छ । शिवशक्ति पशुपतिनाथ मन्दिर तथा योग भवनको भौतिक पूर्वाधार सुधारका लागि महायज्ञ संचालन हुन लागेको हो ।
मंगलबार (चैत १७ गते) देखि शुरु हुन लागेको महायज्ञ चैत २४ गतेसम्म संचालन हुने शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष अर्जुननाथ योगीले जानकारी दिनुभयो ।
मन्दिरसम्म पुग्ने सडक, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्न र योग भवनलाई थप व्यवस्थित गर्नका लागि महायज्ञ संचालन हुन लागेको उहाँको भनाई छ ।
महायज्ञको प्रमुख कथावाचकमा सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्ले रहनुभएको छ । यस्तै उपवाचकमा पण्डित रोहित सुवेदी रहनुहुने भएको छ ।
महायज्ञले हाम्रो संस्कार, सभ्यता र सामाजिक एकता गराउने स्थानीय गोपाल सुनारले बताउनुभयो ।
महायज्ञ शुरु हुनुभन्दा अघि मंगलबार (भोलि बिहान ) कलशयात्रा निकालिने महायज्ञ व्यवस्थापक तिलकराम शर्माले बताउनुभयो । संयोजक टिचन्द्र देवकोटाका अनुसार महायज्ञस्थलबाट शुरु भएको कलशयात्रा सामाजिक विकास डिभिजनको कार्यालय हुँदै बजार परिक्रमा गर्नेछ ।















