दाङ । स्थायी सरकार गठनसंगै व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनेमा तुलसीपुरका उद्योगी व्यवसायी आशावादी भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले शनिबार राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा गरेको भित्तेपात्रो बिमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी व्यवसायीले राज्यले ऐन कानुन निर्माण गरेर भएपनि उद्योग तथा व्यवसाय स्थायित्व र सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले तुलसीपुरमा साना उद्यमी व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण स्थानीय सरकारले बनाउनुपर्ने बताउनुभयो । उहाँले गाउँबाट आएर कृषिजन्य उत्पादन बिक्रि गर्ने किसानलाई सार्वजनिक शौचालयको समेत व्यवस्था नभएको बताउनुभयो ।
महासंघले महोत्सवबाट संकलित केहि रकमले तुलसीपुर उपमहानगरपालिका संगको समन्वयमा बसपार्कको पश्चिम क्षेत्रमा शौचालय निर्माण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले स्थानीय सरकारले स्थानीय उत्पादनको बजारीकरणमा सहजताका लागि हाटबजारको व्यवस्था गरेको बताउनुभयो । उहाँले हाटबजारमा बसेर सबै प्रकारका कृषिजन्यवस्तु बिक्रि गर्न पाइने तर सडकमा बसेर बिक्रि गर्न नपाइने बताउनुभयो । बजारका फुटपाथमा बसेर बिक्रि गर्न मिल्ने निश्चित समय निर्धारण गरिएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले स्थानीय सरकारले फुटपाथमा हुने व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । गाउँबाट आउने किसानले सजिलैसंगै आफ्ना उत्पादन बिक्रि गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रास्वपा तुलसीपुरका सभापति जीवन भण्डारीले नयाँ सरकारले उद्योगी, व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योग तथा व्यवसाय दर्ता हुने बित्तिकै विद्युत र पानी सजिलै जडान हुने गर्ने वातावरण नयाँ सरकारले बनाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ तुलसीपुरका महासचिव कृष्ण बहादुर पुनले स्थायी सरकार बनेसंगै व्यापार व्यवसाय बढ्ने आशा रहेको बताउनुभयो । तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष खड्काले आगामी वर्षमा शान्ति र स्थायित्वको कामना गर्नुभयो ।
यस्तै नेपाल उद्योग तथा व्यवसाय महासंघ तुलसीपुरका अध्यक्ष पदम पोखरेलले व्यवसायीलाई समस्या पर्दा सबै व्यवसायी एक ठाउँमा आउनुपर्ने बताउनुभयो । कार्यक्रममा दाङ विपश्यना केन्द्रका पूर्व अध्यक्ष राम बहादुर खड्काले बजारबाट साना व्यवसायी पलायन हुने अवस्था रहेको भन्दै नेपाली उत्पादनले विदेशी बजार पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले उद्योगी व्यवसायीको मात्रै नभएर आम नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सबै नागरिकको सहयोगले सुरक्षित तुलसीपुर बनाउन सकिने भन्दै नागरिकले समयमै सूचना दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले सरकारले उद्यमीहरूलाई प्रोत्साह हुने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । त्यस अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी वर्ष २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कार्यक्रमको सहजीकरण महासचिव भद्र बहादुर वलीले गर्नुभएको हो ।














