दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले गत फागुन २१ गते सम्पन्न निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको निर्वाचन समीक्षा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८४ मा हुनुपर्ने निर्वाचन साम्राज्यवादी शक्तिहरूको प्रभावमा २०८२ मै गराइएको दाबी गर्नुभयो ।
थापाले जेनजि आन्दोलनमा सिंहदरबार र संसद भबन जलाउने र रास्वपा बाट उम्मेदवार बन्ने मान्छे उहि हुनु भनेको त्यो पार्टी साम्राज्यवादीहरु द्वारा परिचालित भएको जिकिर गर्नुभयो । युवाहरू पुराना सत्ताधारी दलहरूको कुसासन र भ्रष्टाचारप्रति निराश भएको अवस्थालाई उपयोग गर्दै बाह्य शक्तिहरूले चुनावमा प्रभाव पारेको उहाँको भनाइ छ ।
उहाँले जेनजी आन्दोलनलाई हाइज्याक गर्न विदेशी सहयोग, त्यसपछिको सरकारमा रहेका व्यक्तिहरूको बाह्य सम्बन्ध तथा निर्वाचन परिणामले समेत निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको संकेत गरेको दाबी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष कासिनाथ पोख्रेल, केन्द्रीय सदस्य कमला जिसी, जिल्ला सदस्य ईश्वरी भण्डारी, जातीय समता समाजका जिल्ला सल्लाहकार देवबहादुर बिक, अखिल नेपाल किसान महासंघका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व सदस्य राजकुमार धिताललगायतले मन्तव्य राख्नुभएको थियो ।
निर्वाचन परिचालन समितिका संयोजक ऋषिराम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । जिल्ला सल्लाहकार श्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनक भण्डारीले गर्नुभएको थियो ।














