२०८३ साउन १७ गते आइतवार

कांग्रेस नेता दिपक गिरीको अभिव्यक्तिपछि रास्वपा नेता हरि रिजालको कटाक्ष : ‘विकासमा दलीय स्वार्थभन्दा माथि उठौँ ।’

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि रिजालले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट स्तरोन्नति र विकासका सवालमा दलीय स्वार्थभन्दा माथि उठेर हातेमालो गर्न आह्वान गर्नुभएको छ ।

नेपाली कांग्रेसी नेता एवं पूर्वमन्त्री दिपक गिरीले आइतबार एक कार्यक्रमका क्रममा ‘२५ करोड बजेटले टरिगाउँ एयरपोर्ट बन्दैन’ भन्दै रास्वपाले भ्रम छरेको आरोप लगाएपछि नेता रिजालको यस्तो प्रतिक्रिया आएको हो ।

संघीय सरकारले चालु आर्थिक वर्षमा टरिगाउँ एयरपोर्टको स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । बजेट विनियोजन भइसकेको अवस्थामा कांग्रेस नेता गिरीले निराशाजनक अभिव्यक्ति दिएको भन्दै रिजालले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता गिरीको अभिव्यक्तितर्फ संकेत गर्दै रास्वपा नेता रिजालले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ–‘साथीहरूले आफूले आफ्नो पालामा पनि नगर्ने र गर्न खोज्नेहरूलाई पनि निराश र ’डिस्टर्ब’ गर्ने कार्य गलत मात्र होइन, यो विकासविरोधी र जनविरोधी कार्य हो ।’

विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा सबै दलीय संकीर्णताभन्दा माथि उठ्नुपर्नेमा जोड दिँदै नेता रिजालले दंगाली र तुलसीपुरवासी एक ढिक्का भएर लागे असम्भव केही नभएको बताउनुभयो । ‘हामी दंगाली/तुलसीपुरवासी मिले के गर्न सकिन्न, जमिन पनि मिल्छ, आकाश पनि मिल्छ ।’ उहाँले भन्नुभएको छ ।

कुनै पनि क्षेत्रको विकासमा सम्बन्धित स्थानीय तह वा सरकारको भूमिका प्रमुख हुने उल्लेख गर्दै उहाँले सडक, सिँचाइ वा एयरपोर्ट जुनसुकै पूर्वाधार निर्माणमा पनि समन्वय र चाँजोपाँजो मिलाउने काम स्थानीय सरकारको नै हुने बताउनुभएको छ ।

टरिगाउँ एयरपोर्टको स्तरोन्नतिको मुद्दा लामो समयदेखि दाङको प्राथमिकतामा पर्दै आएको छ । तर स्तरोन्नतीले पूर्णता पाउन सकेको छैन् । चालु आर्थिक वर्षमा बजेट विनियोजन भएर काम अघि बढाउने तरखर भइरहेका बेला राजनीतिक दलका नेताहरूबीच नै आरोप–प्रत्यारोप सुरु भएपछि स्थानीयस्तरमा भने पूर्वाधार विकास अनिश्चित बन्ने हो कि भन्ने चिन्ता पनि छाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस