२०८२ फाल्गुन २६ गते मङ्गलवार

मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनीमा अभियान सञ्चालन

दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो । मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर दुई अङ्कबाट एकल अङ्कमा झार्ने प्रदेश स्वास्थ्य मन्त्रालयको योजना छ । सोही योजना अनुसार पारिवारिक विवरण तयार गरेर आवश्यक उपचार अवलम्बन गर्ने योजना अघि सारिएको छ ।

चेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर बढिरहेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले बताउनुभयो । विभिन्न कारणबाट भएको मातृ तथा शिशुको मृत्यु घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गरेर अघि बढ्न लागिएको उहाँले जानकारी दिनुभयो ।

समुदायस्तरका परिवार स्वास्थ्य प्रोफाइलमा जटिल अवस्थाका गर्भावस्था, दुई वर्षमुनिका बालबालिकाको पहिचान गरिने छ । त्यसबाट उनीहरूलाई सुरक्षित हुन अपनाउनुपर्ने सुरक्षित कार्यक्रम तय गरिने मन्त्री सारूले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची र बाँके जिल्लामा बाल तथा मातृ मृत्युदर घटाउन काम गरिने छ ।

नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवाप्रदायकका मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृद्धि गरिने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस