तुलसीपुर ।दाङको तुलसीपुर उपमहानगरपालिकाका एक कर्मचारीले मनोमानी ढंगले गाडी चलाएको पाइएको छ । यान्त्रिक तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख रेवा रावतले पदको दुरुपयोग गरी मनोमानी ढंगले सरकारी गाडी चलाएको पुष्टि भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रावतले चलाएको गाडीले मंगलबार बिहान स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका थिए ।
सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको प्रमुख रावतले चलाएको रा १ झ १४२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको लु. प्र.२–००१ प–१६७९ नम्बरको स्कुटीलाई तुलसीपुर उपमहानगरपालिका–६ स्थित सुकौरा रोड पानी ट्यांकी नजिकै ठक्कर दिएको हो ।
पालिकाका सूचना अधिकारी यज्ञ बहादुर केसीले अधिकृत रावतको हल्का सवारी चालक अनुमति पत्र (लाइसेन्स) नरहेको बताउनुभयो । रावतले तुलसीपुरको एक ड्राइभिङ सेन्टरमा एक हप्ता अघिदेखि गाडी सिक्ने गरेको जानकारी पाएको सूचना अधिकारी केसीले बताउनुभयो । तर आज कार्यालयको कामको सिलसिलामा रावत बजार गएको समयमा गाडी दुर्घटना भएको सुन्नमा आएको उहाँले बताउनुभयो ।
विपी चोकमा फेन्सी पसल गर्दै आएका एक व्यवसायीले फोहोर नउठेको केसीलाई जानकारी गराएपछि रावतलाई आफूले जानकारी गराएको उहाँको भनाइ छ ।
‘उहाँ कार्यालयको कामप्रति अन्त्यत जिम्मेवार कर्मचारी हो, मंगलबार बिहानपनि कार्यालय समयअघि ने कामको शिलशिलामा निस्कनु भएको हो ।’ उहाँले भन्नुभयो–‘गाडी सिक्न जानुभएको होइन, कार्यालयकै कामका लागि गएको समयमा दुर्घटनामा पर्नुभएको हो ।’
दुर्घटना भएको गाडी तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेको पालामा खरिद गरेर ल्याइएको थियो । पछिल्लो समय नयाँ गाडी खरिद गर्ने बाहानामा पुरानो गाडीमा मर्मत खर्च धेरै हुने भन्दै पालिकाले नगर प्रमुख टीकाराम खड्काका लागि अहिले झन्डै एक करोड मूल्यमा गाडी खरिद गरेको छ । नगर प्रमुख खड्काका लागि नयाँ गाडी आएपछि पुरानो गाडी प्रयोग हुन छोडेको थियो । यसैको फाइदा कर्मचारीले मनोमानी रूपमा गरिरहेको पाइएको छ ।
पालिकामा नयाँ गाडी आएपछि पुरानो गाडी यान्त्रिक तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख रावतको मातहतमा रहेको पालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का वडा सदस्य यमराज केसीले जनप्रतिनिधिले काम परेको बेला गाडी लैजान नपाउने तर सवारी चालक अनुमति पत्र समेत नभएको कर्मचारीलाई गाडी चलाउन कस्ले आदेश दियो भन्दै प्रश्न गर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिकाको रा १ झ १४२ नम्बरको गाडीले लु.प्र २–००१ प १६७९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । आज मंगलबार बिहान सवा ९ बजेतिर शाखा प्रमुख रावतले चलाएको गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
ट्राफिक प्रहरीका अनुसार कुनै पनि सवारी साधन सवारी चालक अनुमति पत्र बिना चलाउनु गैरकानुनी मानिन्छ । अझ सरकारी सवारी साधन त्यस्तो व्यक्तिले चलाउनु कानुनी रूपमा सरकारी सम्पत्तिको दुरुपयोग गरिएको मानिन्छ । यदि सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले चलाएको गाडी दुर्घटना भएमा हुने क्षतिपूर्ति स्वयंम सवारी चालकले नै व्यहोर्नुपर्ने व्यवस्था रहेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सवारी चालक अनुमति पत्र नभएको व्यक्तिले चलाएको गाडी दुर्घटना भएमा अनुसन्धान तथा छानबिन गरी प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।









