दाङ । एक समय थियो, जब तुलसीपुर–११ बेलटाकुरास्थित ऐतिहासिक राधाकृष्ण मन्दिर जीर्ण भइसकेको थियो । पुरानो संरचना भत्किन लाग्दा श्रद्धालुहरू मन्दिर पस्न समेत डराउँथे । तर आज, यही मन्दिर जनसहभागिता र स्थानीय सरकारको सहयोगमा पुनर्जागृत भइरहेको छ ।

२०५८ सालसम्म मन्दिर जीर्ण अवस्थामा थियो । भक्तजनहरूको आगमन घट्दै गयो, धार्मिक गतिविधिहरू थलिए । तर २०८० साल वैशाखदेखि भने मन्दिरको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भयो ।

पुनर्निर्माणका क्रममा वडाबाट आर्थिक सहयोग प्राप्त हुँदै गयो । आर्थिक वर्ष २०७९/८० मा वडाबाट २ लाख रुपैयाँ प्राप्त भई मन्दिरको पिलर र विम निर्माण गरियो । त्यसपछिको वर्ष, २०८०/८१ मा थप २ लाख प्राप्त भई पर्खाल र ढलानको काम सम्पन्न गरियो ।
स्थानीयले पनि मन्दिरको पुनःनिर्माणमा सक्रिय भूमिका खेले । वडाको समन्वयमा १६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरियो । नगर साझेदारी कार्यक्रममार्फत थप ९ लाख रुपैयाँ प्राप्त भयो ।

राधाकृष्ण मन्दिर धार्मिक व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार सेनका अनुसार हालसम्म मन्दिर पुनर्निर्माणमा जम्मा २२ लाख ४९ हजार ३ सय ९१ रुपैयाँ खर्च भइसकेको छ ।
‘अब हामीलाई गर्व लाग्छ । हामीले हाम्रो पूर्खाको सम्पदा जोगाउन सकेका छौं ।’ उहाँले भन्नुभयो–‘मन्दिर फेरि श्रद्धा र संस्कारको केन्द्र बन्दैछ ।’
यसैबिच मन्दिरको बिहिबार उद्घाटन गरिएको छ । राधाकृष्ण मन्दिर धार्मिक व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार सेनको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत र महिला अधिकारकर्मी सुष्मा गिरीको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले राधाकृष्ण मन्दिरको पुनर्निर्माण केवल संरचनाको पुनःस्थापना मात्र नभएर धार्मिक चेतनाको पुनर्जागरण पनि भएको बताउनुभयो । जनसहभागिता, पारदर्शिता र योजनाबद्ध समन्वयले साच्चै परिवर्तन सम्भव देखिएको उहाँको भनाई छ । कार्यक्रमको सञ्चालन बसन्त परियारले गर्नुभएको हो ।













