दाङ । गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसीपुरमा पहिलो पटक विधिवत निर्वाचन प्रक्रियाबाट विद्यालय स्तरीय विद्यार्थी नेतृत्व चयन गरिएको छ ।
विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने उद्देश्यका साथ कक्षा प्रतिनिधि, कप्तान, उपकप्तान तथा सदन कप्तानको निर्वाचन सम्पन्न गरेको हो । निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार गरेका थिए ।
उम्मेदवारहरूले आफूलाई प्रस्तुत गर्दै मतदाता विद्यार्थीहरूलाई आ–आफ्ना एजेन्डा सुनाएका थिए । निर्वाचन प्रक्रिया पूर्णरूपमा निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिएको थियो । मतदानका लागि मतदान केन्द्र स्थापना गरिएको थियो, जहाँ विद्यार्थीहरूले गोप्य मतदानमार्फत आफूले रोजेका उम्मेदवारलाई मत दिएका हुन् ।

विद्यालयले निर्वाचन समिति गठन गरी सम्पूर्ण प्रक्रिया सञ्चालन गरेको थियो । समितिमा शिक्षक, व्यवस्थापन प्रतिनिधि र विद्यार्थीहरूको समावेशी सहभागिता रहेको थियो । निर्वाचनमा कक्षा ३ देखि माथिका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उम्मेदवारहरूको उत्साह, भाषण कला, योजनाहरू र नेतृत्व क्षमताले सम्पूर्ण विद्यालयमा सकारात्मक ऊर्जा प्रवाहित गरेको थियो । निर्वाचनबाट गुरुकुल एकेडेमी लमहीको कप्तानमा प्रतीक महतो र ऋतिका थारु, यसैगरी जखेरा सदनमा रोबिक खड्का र सिजन केसी, राप्ती सदनमा विल्सन चौधरी र आयुष्मा गिरी, रतननाथ सदनमा जस्टिन बस्याल र एन्जल केसी र रीहार सदनमा प्रफिट पौडेल र तृष्णा सुवेदी निर्वाचित भएको गुरुकुल लमहीका प्रशासन प्रमुख सतीश पौडेलले जानकारी दिनुभयो ।

११४ मतदाता रहेकोमा ११३ मत खसेको थियो भने १ मत बदर भएको थियो । यसैगरी गुरुकुल एकेडेमी तुलसीपुरको विद्यालय कप्तानमा दीपक्षा बुढाथोकी तथा उपकप्तानमा पमिशा सेन वली, टोप्याज सदन कप्तानमा प्रियांसा योगी उपकप्तानमा अमिशा सेन वली, इमरल्ड सदन कप्तानमा अनुस्का डाँगी उपकप्तानमा सम्भव लामिछाने, सफायर सदन कप्तानमा सुदर्शन हमाल उपकप्तानमा सुदीप खड्का, र रुबी सदन कप्तानमा संस्कृति पुन मगर र उपकप्तानमा अनुस्का केसी निर्वाचित भएको विद्यालय संयोजक चिन्तना धितालले जानकारी दिनुभयो ।
मतदाता संख्या १३९ रहेकोमा १३५ मत खसेको पनि संयोजक धितालले जानकारी दिनुभयो । निर्वाचित नेतृत्वहरूलाई विद्यालयका प्रधानाध्यापकहरूले पदभार ग्रहण गराउनुभएको थियो ।
दुवै शाखामा पृथक रूपमा निर्वाचन गरिएको थियो र दुवै स्थानमा नव–निर्वाचित प्रतिनिधिहरूले अब विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।
यस निर्वाचन प्रक्रियाले विद्यार्थीहरूलाई नेतृत्व, कर्तव्य र सहकार्यको महत्व बुझाउने काम गरेको छ । गुरुकुल एकेडेमीले शिक्षाको साथसाथै नैतिकता र सामाजिक उत्तरदायित्वमा समेत विद्यार्थीहरूलाई सशक्त बनाउँदै गएको सन्देश दिएको छ ।













