दाङ । लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यस वर्ष आगलानी तथा वन डढेलोका घटनामा कमी भएको पाइएको छ । गत वर्ष वैशाख २५ गतेसम्ममा यहाँका चार सय २१ स्थानमा डढेलो लागेकामा यस वर्ष जेठको ७ गतेसम्म दुई सय ९३ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत डिलाराम पौडेलका अनुसार यस वर्ष प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालयअन्तर्गतका २९३ स्थानमा ३९७१ दशमलव ७० हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएका छन् ।
गत वर्षभन्दा यस वर्ष मौसममा बदली भइरहेका कारण तथा गत वर्ष झैँ गर्मी पनि नभएका कारण डढेलोका घटनामा कमी आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दाङको २५ स्थानमा ३९७ हेक्टर, दाङको देउखुरीमा ३९४.५० हेक्टर, रूपन्देहीको २५ स्थानमा ५५६.१ हेक्टर क्षेत्रफल, अर्घाखाँचीको २१ स्थानमा १२७.०५ हेक्टर, रुकुमपूर्वको ६ स्थानमा ११२० हेक्टर, रोल्पाको ६ स्थानमा ३९.८० हेक्टर, प्युठानको १० स्थानमा ८१ हेक्टर वन क्षेत्रमा डढेलोको प्रकोपबाट घटना भएका छन् ।
यस्तै बाँकेको ६ स्थानमा २५ हेक्टर, कपिलवस्तु (कपिलवस्तु)को ११ स्थानमा ७९.७५ हेक्टर, कपिलवस्तु (गौतमबुद्ध)को ९ स्थानमा ७० हेक्टर, नवलपरासीको ७६ स्थानमा २५९ हेक्टर, पाल्पाको ६७ स्थानमा ७२६ हेक्टर, बर्दियाको ५ स्थानमा ३९.५ हेक्टर र गुल्मीको ११ स्थानमा ५७ हेक्टर वन क्षेत्रमा डढेलोको प्रकोपबाट घटना भएका छन् ।
दाङमा एक गोठ, तीन परालका टौवा र करिब पाँच हजार बोटबिरुवा नष्ट भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ (देउखुरी), कपिलवस्तु (कपिलवस्तु) र बाँकेमा सामान्य बोटबिरुवामा क्षति पुगेको छ ।
फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँले नेपालमा मानवीय कारणले नै बढी आगलागीका घटना हुने बताउनुभयो ।
आन्तरिक कानुन तथा मामिला मन्त्रालयका अनुसार लुम्बिनीमा गत वर्ष वैशाख २५ गतेसम्म चार सय २१ स्थानमा आलगाली तथा वन डढेलोका घटना भएका थिए । जसमा पाँच जनाको मृत्यु भएको थियो । यस वर्ष लुम्बिनीमा २९३ स्थानमा डढेलोका घटना भएका छन् भने एक जनाको मृत्यु भएको छ ।















