कपिलवस्तु । शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा जलेर दाजु र बहिनीको मृत्यु भएको छ ।
हिजो आइतबार बिहान ७ बजे ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास चुहिएर आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।
शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको अवस्थामा भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि आइतबार दिउँसो साढे १ बजे भारतको गोरखपुरस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा साँझ ६ बजेतिर बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सोनम राष्ट्रिय उच्च माध्यामिक विद्यालय मुडफुटुवामा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको निधनमा विद्यालयले आज सोमबार शोक बिदा दिएको विद्यालयका प्रधानाध्यापक लाल चन्द पाण्डेले जानकारी दिनुभयो ।









