२०८२ माघ २५ गते आइतवार

तुलसीपुर–अमलिया सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३५ बढी घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी दंगिशरण गाँउपालिका–२ का ३७ वर्षका शान्ता खड्का चौधरी र सोही ठाँउका ६५ वर्षका नारायण भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा दंगिशरण गाउँपालिका–२ का २५ वर्षका मनिसा बस्नेत, सोही ठाँउका ५२ वर्षका गोमा सार्की, ३४ वर्षका किसिता पुन, ३२ वर्षका सिमा पुन, २७ वर्षका कमला नेपालीका छोरा ८ वर्षका शंकर नेपाली, रहेका छन् ।

यस्तै सोही ठाँउका ४१ वर्षका नोखीराम बिक, ४८ वर्षका कुसल बिक, २५ वर्षका ललिता सुनार, ४५ वर्षका कमला नेपाली, २३ वर्षका अमृत कुसारी, ४५ वर्षका पार्वति नेपाली, उहाँको छोरा १२ वर्षका राजेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

यस्तै सोही ठाउँका १० वर्षका प्रवल परीयार, ४४ वर्षका भिमा घर्ती, १५ वर्षका एशोदा बस्नेत, ५४ वर्षका चुडामनी बिक, ४१ वर्षका बालिका ओली रहेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

घाइते मध्ये पाँच जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोलहपुर बाँके रिफर गरिएको रानाले बताउनुभयो । दंगिशरण गाँउपालिका–२ का ६० वर्षका मोतिसरा सुनार, ३९ वर्षका सिता नेपाली, ९ वर्षका शुसान्त नेपाली, ४३ वर्षका लक्ष्मी नेपाली र २७ वर्षका कमला नेपालीलाई थप उपचारका लागि बाँके रिफर गरीएको उहाँले जानकारी दिनुभयो । अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र बखरियाबाट आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आइतबार बिहान ११ बजेतिर एक आपसमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

यात्रुबाहक बस सडकको बाँया साईडमा सडकदेखि करिब ४५ मिटर तल खसेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो । दुवै बसका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस