२०८२ मङ्सिर २७ गते शनिवार

दाङमा एकैदिन १३३ जनाले गरे रक्तदान

दाङ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा दाङ जिल्लामा एकै दिन १३३ जनाले रक्तदान गरेका छन् । दाङको घोराही र तुलसीपुरमा विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

घोराही नगर जेसीजले आयोजना गरेको कार्यक्रममा ४० पिन्ट, तुलसीपुर नगर जेसीजको कार्यक्रममा १४ पिन्ट र मानव धर्म सेवा समितिको आयोजनामा ७९ पिन्ट रगत संकलन गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

दाङमा हाल लमही, घोराही र तुलसीपुर गरी तीन स्थानमा रक्तसञ्चार केन्द्रहरू सञ्चालनमा छन् । ती केन्द्रहरूमा दैनिक २५ देखि ३० पिन्ट रगतको माग हुने गरेको छ । यद्यपि, रक्तदानप्रति जनचेतना अभावका कारण आवश्यकताअनुसार रगत संकलनमा चुनौती आइरहेको छ ।

रक्तदान कार्यक्रममा पहिलोपटक सहभागी भएकी तुलसीपुर–८ का पार्वती बस्नेतले पहिलो पटक रक्तदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूका अनुसार १८ वर्ष उमेर पूरा भएका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्ति रक्तदान गर्न उपयुक्त मानिन्छन् । पुरुषहरूले प्रत्येक ३ महिनामा र महिलाले प्रत्येक ४ महिनामा एक पटक रक्तदान गर्न सक्नेछन् ।

मानव जीवन रक्षाको यो पुण्य कार्यमा सबैले सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आयोजक संस्थाहरूले आगामी दिनमा अझ धेरै युवाहरूलाई प्रेरित गर्ने बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस