२०८२ फाल्गुन २ गते शनिवार

घोराही–तुलसीपुर चारलेन सडक ठेक्का अझै लागेको छैन : आयोजना प्रमुख

दाङ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको मूख्य लाइफलाइन घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि अहिले आर्थिक मूल्याङ्कनको काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख दीप बराहीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दुई–तीन दिनभित्र ठेक्का पाउने निर्माण कम्पनीको टुंगो लाग्नेछ ।

आयोजना प्रमुख बराहीले सामाजिक सञ्जालमा ठेक्का लागेको कुरा भ्रामक रहेको बताउनुभयो । अहिलेसम्म कसैलाई ठेक्का नदिइएको उहाँको भनाई छ । ‘सामाजिक सञ्जालमा आएका सूचनाहरू भ्रामक छन्‌’ उहाँले भन्नुभयो–‘हालसम्म ठेक्का दिने निर्णय भएको छैन ।’ तर सामाजिक संजालमा २ अर्ब ५२ करोड रकममा दिवा– बन्धन भगवति निर्माण सेवा कम्पनिले ठेक्का पाएको भनेर प्रचारप्रसार शुरु भइसकेको छ ।

आयोजना प्रमुख बराहीका अनुसार सडक निर्माणका लागि चारओटा कम्पनीले आवेदन दिएका थिए । तीमध्ये एउटा कम्पनी मात्रै छनोटको चरणमा पुगेको भए पनि त्यसको निर्णय अझै नभएको उहाँले जानकारी दिनुभयो ।

सोमबार आर्थिक प्रस्ताव सार्वजनिक गरिएको र अबको एक–दुई दिनभित्र छनोट टुंगो लाग्ने बराहीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।

आर्थिक प्रस्तावहरूको मूल्याङ्कन सकिएपछि सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का दिने प्रक्रिया अघि बढ्ने आयोजनाले जनाएको छ ।

घोराही–तुलसीपुर सडकमा दैनिक हजारौँ सवारी साधन गुड्ने गरेका छन् । सडक बिग्रिएका कारण कारण पटकपटक दुर्घटना हुँदै आएको छ । दुर्घटनामा परेर धेरैले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

सडक स्तरोन्नतिको माग गर्दै नागरिकले विगतदेखि नै आवाज उठाउँदै आएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस