दाङ, १० असार । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अत्याधुनिक मेसिन जिन एक्स्पर्टबाट क्षयरोग अर्थात टिबी परिक्षण हुन थालेको छ । यसअघि माइक्रोस्कोपबाट क्षयरोग परिक्षण गरिदै आएकोमा अब नयाँ जिन एक्स्पर्ट मेसिन जडान भएसंगै बिरामीलाई सहजता हुन थालेको हो ।
राष्ट्रिय क्षयरोग निवारण केन्द्रले अस्पतालमा सोमबार मेसिन हस्तान्तरण गरेको हो । यसको मूल्य २५ देखि ३० लाख रुपैँयासम्म पर्छ ।
जिन एक्स्पर्ट मेसिनबाट कम व्याक्टेरियामा पनि अर्थात शुरुकै चरणमा पनि क्षयरोग पत्ता लाग्न सक्ने अस्पतालका ल्याव इन्चार्ज देबीलाल डाँगीले बताउनुभयो । उहाँका अनुसार खकारमा ३० देखि १०० सम्मको व्याक्टेरिया भएमा पनि रोग पत्ता लाग्ने छ ।

तर माक्रोस्कोपबाट परिक्षण गर्दा ५ हजारभन्दा धेरै व्याक्टेरिया भएमात्रै रोग पत्ता लाग्ने गरेको थियो । जिन एक्स्पर्ट मेसिन अस्पतालमा जडान भएसंगै क्षयरोग लागेको शुरुकै चरणमा रोग पत्ता लगाउन सजिलो भएको उहाँले बताउनुभयो ।
यसले बिरामीलाई पनि सहजता दिनेछ । यस्तै क्षयरोगको औषधि सेवन गरिरहेका बिरामीलाई औषधिले काम गरे/नगरेको पनि मेसिनबाट जाँच गर्न मिल्ने ल्याब इन्चार्ज डाँगीले बताउनुभयो । उहाँका अनुसार मेसिनबाट एक पटकमा ४ जनाको खकार परिक्षण गर्न सकिने र डेढ घण्टामा रिपोर्ट आउँछ ।
अस्पतालमा अहिले दैनिक १५ देखि २० जनासम्मले क्षयरोग परिक्षण गराउने गरेका छन् । मेसिनबाट दैनिक २० देखि २५ जनासम्मको परिक्षण गराउन सकिनेछ । क्षयरोगको परिक्षण बाहिर निजि स्वास्थ्य संस्थामा परिक्षण गराउँदा २ हजारसम्म लाग्ने गरेको छ । तर राप्ती प्रादेशिक अस्पतालमा निशुल्क परिक्षण हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताउनुभयो ।
नयाँ मेसिन जडान भएपछि बिरामीले पहिलेकोभन्दा थप सेवा पाउने उहाँको भनाई छ । अस्पतालमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लाबाट उपचारका लागि आउने गरेका छन् ।













