दाङ । तुलसीपुरमा स्थानीय महिलाहरू अचार बनाउने सिप सिक्दै व्यावसायिक उद्यमका लागि तयार हुन थालेका छन् । तालिम असार ३ गतेदेखि सुरु भएको हो । १५ दिनसम्म संचालन हुने तालिम असार १८ गते सकिने छ ।
तालिममा तुलसीपुर क्षेत्रका विभिन्न टोलका महिलाहरू सहभागी छन् । सहभागी महिलाहरूले तालिम सकिएपछि व्यावसायिकरूपमा अचार उत्पादन गरी बजारमा बिक्री गर्ने योजना बनाएका छन् । तुलसीपुर–६ सुन्दरनगर निवासी तेजकुमारी बिकले तालिमपछि महिलाको समूह बनाएर व्यवसायिक रूपमा अचार बनाउने योजना रहेको बताउनुभयो । बजारमा पाइने भारतीय अचारलाई विस्थापित गर्ने गरी घरेलु उत्पादनलाई बढावा उहाँको अठोट छ ।
यस्तै रजौरा निवासी बिमला न्यौपानेले अचार बनाउने सीप आफूसँग मात्रै सीमित नराखी अरूलाई पनि सिकाउने क्षमता विकास भएको बताउनुभयो । ‘अब म आफैंले बनाउने मात्र होइन, अरूलाई पनि तालिम दिन सक्ने भएकी छु ।’ उहाँले भन्नुभयो ।
त्यस्तै, तुलसीपुर–६ की देवका खनालले तालिममा सिकिएको सिपले आफूजस्ता महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । अपांग मानव अधिकार दाङकी सचिव समेत रहनुभएकी खनालले अपांगता भएका महिलाहरूलाई समेत अचार बनाउने सिप सिकाएर उनीहरूलाई आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो ।
तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारी (गणेश)ले सहभागी महिलाहरूलाई सिकिएको सीपलाई व्यवहारमा उतारेर अचार उद्यमी बन्न सुझाव दिनुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा तुलसी सामाजिक विकास केन्द्र तुलसीपुरले तालिमको आयोजना गरेको हो । तालिमले महिलाहरूको आत्मनिर्भरता तथा स्वरोजगारको बाटो खुलाउने अध्यक्ष भण्डारीले बताउनुभयो । तालिममा ६२ जना महिलाको सहभागीता रहेको छ ।














