
दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ– नेपालले दाङको प्रथम भेला गरेको छ । संगठनका अध्यक्ष मान बहादुर वलीको अध्यक्षता तथा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोकाको प्रमुख आतिथ्यतामा भेला भएको भएको हो ।
भेलालाई सम्बोधन गदै प्रमुख अतिथि रोकाले दलाल संसदीय व्यवस्थाले किसानलाई समयमै मल, बीउ, सिँचाइ र कृषि प्रविधि उपलब्ध गराउन नसकेको आरोप लगाउनुभयो । उहाँले किसानका गम्भीर समस्याहरूमा राज्य मौन बसेको भन्दै त्यसको विरुद्धमा किसानहरु जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले वर्तमान राज्य व्यवस्था दलाल र फासीवादी भएको टिप्पणी गर्नुभयो । उहाँले किसानको आवश्यकताभन्दा पनि जमिन्दार वर्गको पक्षमा राज्य उभिएको आरोप लगाउँदै किसान विद्रोहद्वारा राज्य व्यवस्था कब्जा गरी आधिबेहारी सृजना गर्ने समय आएको बताउनुभयो । पार्टीको एकता महाधिवेशनले लिएको लक्ष्य जनबादी क्रान्तिको खुड्किला पारगर्दै बैज्ञानिक समाजबाद राज्य ब्यबस्था स्थापना गर्न सम्पुर्ण किसान एकजुट हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुकुमले किसान देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै सम्पूर्ण कृषकलाई महासंघको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभयो । अर्का केन्द्रीय सदस्य लालध्वजले कृषि क्रान्तिबाट मात्र देशको समृद्धि सम्भव भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई कृषि उत्पादनमा सक्रिय हुन आग्रह गर्नुभयो ।
यसैबिच भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघले दाङ जिल्ला संगठन समिति गठन गरेको छ ।
टीका बहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । समितिमा डिल्लीराम खड्का, प्रकाश चौधरी, दीपक केसी, गोमा डिसी, सुन्दरलाल चौधरी, तिलक बहादुर विश्वकर्मा र अन्य दुई सदस्य पछि थप गर्ने निर्णय गरिएको छ ।
नवगठित समितिलाई शुभकामना तथा निर्देशनात्मक मन्तव्य जिल्ला सचिव ‘दिप’ ले दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य शिशिरले गर्नुभएको हो ।