
दाङ। नमस्ते मालिका–कालिका यातायात प्रालिले एकैपटक १० वटा एसीसहितका विद्युतीय (ईभी) गाडी सञ्चालनमा ल्याएको छ । दाङको तुलसीपुरलाई केन्द्र बनाएर लुम्बिनी प्रदेशका विभिन्न स्थानमा यात्रुहरुलाई सहज र वातावरणमैत्री सेवा दिने लक्ष्यसहित प्रालिले ईभी गाडी सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सुमन पोखरेलका अनुसार नयाँ सवारी साधनहरू आइतबारदेखि तुलसीपुरबाट नेपालगञ्ज, सुर्खेत र बुटवल रुटमा नियमित रूपमा सञ्चालनमा आएका छन् ।
उहाँले प्रालिले तुलसीपुर बजार नजिकैको २ किलोमिटर क्षेत्रभित्र यात्रुहरूलाई लक्षित गरी निःशुल्क सेवा पनि सुरु गरेको जानकारी दिनुभयो ।
‘हामीले यात्रुहरूलाई शुद्ध हावा, कम आवाज, सहज सिट व्यवस्था र गर्मीमा राहत दिने एसीसहितको सेवा दिने प्रयास गरेका छौँ ।’ अध्यक्ष पोखरेलले भन्नुभयो–‘ईभि गाडीबाट इन्धनको बचत मात्र होइन, वातावरणीय दृष्टिकोणले पनि राम्रो योगदान पुग्छ भन्ने हाम्रो विश्वास छ ।’
वरिष्ठ उपाध्यक्ष हंशराज केसीले प्रालिले यात्रासमेत सहज बनाउने उद्देश्यले नयाँ विद्युतिय गाडी संचालनमा ल्याएको बताउनुभयो । ‘सार्वजनिक सवारीको अभावले धेरै यात्रुहरू नीजि सवारी साधन भाडामा लिन बाध्य छन्’ उहाँले भन्नुभयो–‘यस स्थितिमा हाम्रो यो पहल उपयोगी हुने आशा गरेका छौं ।’
केसीका अनुसार एकैपटकमा १० वटा ईभी गाडी सञ्चालन गर्नु प्रालिको दीर्घकालीन योजनाको पहिलो चरण हो । प्रालिले आगामी दिनमा थप गाडी थप्दै सेवा क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ ।
यातायात क्षेत्रको आधुनिकीकरण, हरित ऊर्जा प्रवद्र्धन र यात्रु सुविधालाई केन्द्रमा राखेर गरिएको यो प्रयासले दाङ तथा लुम्बिनी प्रदेशका नागरिकहरूलाई सस्तो, सुरक्षित र आरामदायी यात्राको अनुभूति दिने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।