रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आज आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहितकुमार शाहीका अनुसार भान्सा घरमा बसिरहेका घर्तीमगरको पहिरोले घर पुरिँदा मृत्यु भएको बताउनुभयो । घटनास्थलमा अहिले प्रहरी हवल्दारको नेतृत्वमा पाँच जनाको टोली र स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
घर्तीमगरको परिवार अर्को गोठमा रहेकाले सुरक्षित रहेको प्रहरी प्रवक्ता शाहीले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिनुभयो ।














