सल्यान । बाँकेबाट रुकुमपश्चिम जाँदै गरेको हाइस गाडी सल्यानमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुमपश्चिमको चौरजहारी जाँदै गरेकोे भे १ ख ३९९४ नम्बरको हाइस गाडी बिहिबार दिउँसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बराईजिउलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । दुर्घटनामा घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ४ का २८ वर्षीय चालक पारस आचार्य, सोहि वडा निवासी ३६ वर्षीय भुपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य रहनुभएको छ ।
यस्तै ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिशा बुढाथोकी, ७ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिभान टमाटा, २३ वर्षीय भुवन लामिछाने, सोहि गाउँपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा बुढाथोकी, उहाँको ६ वर्षीया छोरी कोपिला बुढाथोकी, वडा नम्वर १ निवासी १६ वर्षीय ईन्द्र रावत र २६ वर्षीय डोेले बस्नेत घाईते हुनुभएको छ ।
यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ निवासी ८४ वर्षीया चन्द्री बिष्ट, ३१ वर्षीया कुन्ता बिष्ट र सुर्खेतको भेरीगंगा नगरपालिका ९ निवासी ३१ वर्षीया तुलसा सुनार घाईते हुनुभएको छ ।
घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भएर नेटा नजिकैको माथिल्लो मोडबाट करिब ५० मिटर तलको मोडमा पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले घाईतेको उद्धार गरेका छन् । घाईते मध्य १४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ भने एक जनालाई चौरजहारी अस्पताल पठाइएको छ ।









