२०८२ माघ २५ गते आइतवार

तुलसीपुरमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमा पक्राउ


दाङ ।
दाङको तुलसीपुरमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमा पक्राउ परेकी छन् ।

तुलसीपुर–१९ बासगढीमा पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोकालाई हिजो दिउँसो साढे २ बजे रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी रोकाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकल चलाउने १६ वर्षिय लक्ष्मण भुसाललाई घटनाको दिनमै पक्राउ गरिएको थियो । तर उनीसंग लाइसेन्स थिएन ।

मोटरसाइकल लक्ष्मणकी आमा मिना भुसालको नाममा दर्ता रहेको पाइएको छ । लाइसेन्स नभएका छोरालाई सवारी चलाउन दिएको स्वीकार भएपछि मिनालाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले अभिभावकले सवारीसाधन नचलाउने उमेरका वा लाइसेन्स नभएका बालबालिकालाई सवारी चलाउन नदिई सचेत बन्न आग्रह गरेको छ । यसरी लापरवाही गर्दा मानवीय क्षति पनि हुने र कानुनी कारबाहीको पनि सामना गर्नुपर्ने प्रहरीको चेतावनी छ ।

हाल आमाछोरालाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस