दाङ। जग्गा खरिद–बिक्री गर्न कारोबार बढेसँगै मालपोत कार्यालय तुलसीपुरको राजश्व संकलनमा वृद्धि भएको छ । कार्यालयले वितेको आर्थिक वर्षमा ३६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३६ करोड १४ लाख ४३ हजार ४ सय १९ रुपैया संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड २३ लाख २४ हजार ९६९ रुपैँया २३ पैसाले बढि संकलन भएको कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा २३ करोड ९१ लाख १८ हजार ४५० रुपैयाँ राजश्व संकलन भएको थियो । यसअवधिमा पुँजीगत लाभकर राजश्व संकलनमा पनि दोव्वरले वृद्धि भएको छ ।
पुँजीगत लाभकर मार्फत आर्थिक वर्ष ०८१/०८२ मा १० करोड ४४ लाख ८२ हजार १०६ रुपैँया संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा ५ करोड ३१ लाख ५१ हजार ४८० रुपैँया संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा वितेको आर्थीक वर्षमा ५ करोड १३ लाख ३० हजार ६२६ रुपैँयाले राजश्व वृद्धि भएको छ ।
कार्यालयले रजिष्ट्रेशन दस्तुर, धितो रोक्का, न्यायीक, सेवा शुल्क, प्रशासनीक दस्तुर, पुँजीगत लाभकर लगाएतका शिर्षकको सेवामा राजश्व संकलन गर्ने गरेको छ । सूचना अधिकारी गौतमका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तुलसीपुर उपमहानगरपालिकाका ८ हजार ५ सय ५१, दंगिशरण,बबई र शान्तीनगर गाउँपालीकाका २ हजार ३२२ र रोक्का लिखत ६ हजार १३९ गरी कुल १७ हजार ४२ लिखत पारित भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा १ हजार ३१५ ले बढि रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा रोक्का लिखत सहित तुलसीपुर उपमहानगरपालीकामा ११ हजार ७२२, दंगिशरण, बबई र शान्तीनगर गाउँपालीकाको ३ हजार ९९५ गरी कुल १५ हजार ७२७ लिखत पारित रहेको थियो ।
प्रमुख सप्पत्तिको रुपमा घरजग्गालाई लिने गरिएकाले यो अबधिमा घरजग्गाको कारोबार बढेको हुँदा राजश्वमा वृद्धि भएको छ । डिजिटल प्रणाली तथा अनलाइन सेवा सञ्चालनले पनि प्रक्रिया सहज भएको र राजस्व संकलनमा सकारात्मक प्रभाव परेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
मालपोत कार्यालयमा विभिन्न शिर्षकमा संकलीत राजश्व सम्बन्धित स्थानीय तहमा ६० प्रतिशत, प्रदेश सरकारमा ४० प्रतिशत र पुँजीगत लाभकरबाट प्राप्त राजश्व संघिय सरकारमा दाखीला हुने कानूनी व्यवस्था छ । जस अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मालपोत कार्यालय तुलसीपुरले स्थानीय तथा प्रदेश सरकारमा २०८१ असारदेखि २०८२ जेठ मसान्तसम्म २४ करोड ३३ लाख ७९ हजार ५०२ रुपैयाँ दाखिला गरेको छ भने असार महिनाको २ करोड ९० लाख ४३५ रपैँया २३ पैसा दाखीला हुन वाँकी रहेको छ ।
दाखिला भएको रकम अनुसार स्थानिय तहमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाले १३ करोड ३९ लाख ३६ हजार ५० रुपैयाँ प्राप्त गरेको छ । तुलसीपुरले अघिल्लो आर्थीक वर्षको सोही अवधिमा ९ करोड ५८ लाख १५ हजार ६०८ रुपैँया प्राप्त गरेको थियो जुन ३ करोड ८१ लाख २० हजार ४४२ रुपैँयाले बढी रहेको छ ।
यस्तै दंगिशरण गाउँपालिकाले ४५ लाख ४७ हजार १६१,शान्तिनगरले ४३ लाख ८६ हजार ३११ र बबई गाउँपालिकाले ३१ लख ५८ हजार १८० प्राप्त गरेका छन। यस्तै तिन गाउँपालिकाले आव २०८०/०८१ को सोही अवधिमा क्रमशःदंगिशरण ३८ लाख ९२ हजार ३१४,शान्तिनगर ४२ लाख ९२ हजार ७३४ र बबई गाउँपालीकाले २४ लाख ८० हजार ५९२ रुपैँया प्राप्त गरेका थिए ।
अघिल्लो बर्षको तुलनामा दंगिशरणले ६ लाख ५४ हजार ८४७, शान्तिनगरले ९३ हजार ५७७ र बबई गाउँपालिकाले ६ लाख ७७ हजार ५८८ रुपैँयाले बढि रकम प्राप्त गरेका छन् ।
















