दाङ । दाङमा मोबाइल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका–१४ सिद्धार्थ टोलका गीता न्यौपानेको डेराबाट भिभो कम्पनीको करिब ५६ हजार रुपैयाँ मूल्य पर्ने मोबाइल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कालिकोट तिलागुफा–१ घरभई हाल घोराही उप–महानगरपालिका–१५ सिद्धार्थ टोलमा बस्ने २७ वर्षका जगत शाही र जुम्ला हिमा गाँउपालिका–६ घरभई हाल घोराही–१५ शिवशक्ति टोलमा बस्ने २९ वर्षका दिपक अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले आफू नेपाल प्रहरीका असई भएको भन्दै धम्कीसमेत दिएका थिए । सोधपुछका क्रममा दिपक अधिकारीले मोबाइलमा नेपाल प्रहरीको पोशाकमा असईको फुली लगाएको फोटो देखाएकोसमेत खुलेको प्रहरीले जनाएको छ ।
चोरी भएको मोबाइल आरोपीहरूको डेरामा फेला पारी बरामद गरिएको र दुवै जनालाई दाङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














