तुलसीपुर । दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
आज शनिबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल ठोक्किँदा तुलसीपुर–१८ दुधरासमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्र.०२–००१ प ११२१ मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षका नवराज पौडेल घाइते हुनुभएको छ । उहाँको दुवै हात खुट्टा, टाउको र छातिमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
यस्तै सोही मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षका रोशन पण्डित रहेको प्रहरी निरिक्षक रानाले जानकारी दिनुभयो । उहाँको दुवै हातखुट्टा,टाउको र मुखमा चोट लागेको छ ।
प्रहरीका अनुसार लु ३४ प ५४०६ नंम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ का ४६ वर्षका देवराज चौधरी रहनुभएको छ । चौधरीको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेको छ ।
घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन अस्थाइ प्रहरी पोष्ट बेलझुण्डीको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














