२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

दाङ । दाङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शनिबार बेलुकी साढे ७ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ दुधरासमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षका देवराज चौधरीको मृत्यु भएको हो । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा साढे ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परि लु.प्र.०२–००१ प ११२१ मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षका नवराज पौडेल घाइते हुनुभएको छ । उहाँको दुवै हात खुट्टा, टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै सोही मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षका रोशन पण्डित पनि घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन अस्थाइ प्रहरी पोष्ट बेलझुण्डीको नियन्त्रणमा रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस