दाङ, २६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ जसपुरस्थित तुलसीपुर–अमिलिया सडकखण्डमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–१२ का २८ वर्षीय समिर डाँगी र पछाडि सवार २६ वर्षीया कमला दाहाल घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता , प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको रा.१ ह १८३९ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प १२०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक डाँगीको निधारमा सामान्य चोट लागेको छ भने कमला दाहालको टाउकोमा गहिरो चोट लागी बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न अटो, अटो चालक र मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा लिइएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक यक बहादुर खड्काको कमाण्डमा चार जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।















