दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा रहेको राप्ती बाल एकाडेमीमा दुई दिने वैदिक योग तथा उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।
आज बुधबार एक कार्यक्रमको आयोजना गरी दुई दिने वैदिक योग तथा उत्प्रेरणा कार्यक्रमको उद्घाटन गरिएको हो । विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद डाँगीको अध्यक्षता तथा नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको विशिष्ट अतिथितामा कार्यक्रम भएको हो ।

नेपाली संस्कार आधुनिक शिक्षाः दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो दृढता भन्ने मूल नाराका साथ आजदेखि दुई दिने वैदिक योग तथा उत्प्रेरणा कार्यक्रम सुरु भएको विद्यालयका प्रधानाध्यापक डाँगीले जानकारी दिनुभयो
२०६५ सालमा स्थापना भएको विद्यालयले प्रारम्भदेखि नै गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । २०६५ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीहरूलाई संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको उहाँको भनाइृ छ । विगत डेढ वर्षदेखि विद्यालयले समाजलाई सही दिशातर्फ लैजानका लागि विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको प्रधानाध्यापक डाँगीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि नेशनल प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डाँगीले वैदिक शिक्षा र योगले विद्यार्थीको अनुशासन, मानसिक सन्तुलन र सकारात्मक सोच विकासमा योगदान पुर्याउने बताउनुभयो ।
विशिष्ट अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष पाण्डेले विद्यालयले आधुनिक शिक्षामा दिएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा वैदिक योग गुरु रविन्द्र बस्नेतले योगाभ्यास र जीवन प्रबन्धनका विभिन्न विधिहरूको प्रशिक्षण दिनुहुनेछ । उहाँले विद्यार्थीलाई स्वस्थ शरीर र स्वस्थ मानसिकताको महत्त्वबारे प्रशिक्षण दिने जानकारी दिनुभयो ।

कक्षा ६, ७, ८, ९ र १० का गरी करिब २५० बढी विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् । कक्षा १० का विद्यार्थी अधुना खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका अतिरिक्त संयोजक कृष्णप्रसाद गौतमले गर्नुभएको हो ।















